सुन्दरी तोप पुनः दैलेख लगियो (भिडियोसहित)


२१ पौष, सुर्खेत । करिब ५० बर्ष सम्म सुर्खेतमा रहेको सेनाको सुन्दरी तोप आज पुनः दैलेख जिल्ला लगिएको छ ।

तत्कालीन समयमा असुरक्षा लगायतका विभिन्न कारणले ०२८ सालमा कोतगढीबाट गण सर्ने क्रममै सुर्खेत ल्याइएको थियो । सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको बताइन्छ । देश संघीयता गएपछि दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाज लगाएतले कोतगढीमै पुनः तोप ल्याउनुपर्ने माग गर्दै आएका थिए ।

स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको गण सबैको पहलपछि उक्त तोप दैलेख आएको हो । तोप बुझ्नका लागि नारायण नगरपालिका– १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ सुर्खेत आउनुभएको थियो । सुर्खेतको राजदल गणमा राखिएको तोप इन्द्रदल गुल्म दैलेखका गुल्मपति मेजर दिनेश लामाले सुन्दरी तोप र ८१ थान गोला भर्पाइ गरेर बुझेर आज तोपलाई पुनः दैलेख लैजानुभएको हो । आज बिहान ७ बजे सुर्खेतबाट दैलेख लगिएको हो । तोपलाई दैलेख बजारमा बाजागाजा सहित स्वागत् गरिएको थियो ।

नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीको अहिले दैलेखको नारायण नगरपालिकाले आफ्नो जिम्मा लिएको छ ।

दैलेखकाे गहना , ऐतिहासिक धराेहर जुन ताेप गोर्खाली सेना संग लडेकाे थियाे । दैलेख वेलासपुर राज्यकाे गहना, दैलेख काेतगढिमा आज भन्दा ५० वर्ष पहले सम्म थियाे र आज दुलही झै सिङ्गारिएर पुन आफ्नै भुमि दैलेख पुर्याइएको छ । पंचायत कालमा सुर्खेत विस्थापित भएकाे सुन्दरी नामकाे ताेप गणतन्त्र पछि आज हर्ष वढाईका साथ पुन सेना क्याम्प काँडाचौरमा पुनः स्थापना भएकाे छ ।

विगत पंचायत कालमा ज्वाला दल पुरानाे वजार दैलेखकाे काेतगढिमा रहने गर्दथ्याे । विगतमा दशैंकाे दिन याे ताेप पट्काई पछि मात्र सर्व साधारणकाे लागि दशैकाे टीका जमरा लगाउने वाटाे खुल्ने चलन दैलेख जिल्लामा स्थापित रहेको थियो ।