लैगिंक हिंसा विरुद्ध एक हुन आवश्यक


२४ मंसीर, सुर्खेत । लैगिंक हिंसा विरुद्ध एक हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाले शनिबार आयोजना गरेको कार्यस्थलमा हुने गरेका लैगिंक हिंसा तथा दुव्र्यवहार र लैंगिक हिंसा न्यूनिकरण विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले आआफ्नो ठाउँबाट हिंसा न्यूनिकरणमा एक भएर लाग्नुपर्ने जोड दिएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकालले लैंगिक हिंसा विरुद्ध सबै पक्ष एक हुनुपर्ने बताउनुभयो । लैगिंक हिंसा न्यूनिकरणका लागि नगरपालिका सबै तत्पर र प्रतिवद्ध रहेको बताउँदै उनले लैगिंक हिंसा विरुद्ध एक भएर समानताको अभियानमा सबै निरन्तर लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लक्ष्यमा नपुग्ने बेलासम्म अभियान निरन्तर हुन आवश्यक छ । लैगिंक हिंसाका कारण महिला र बालिकाहरु अझै पीडित छन् । यि हिंसा विरुद्ध सबै एक हुन जरुरी छ ।’

अधिकारकर्मी निशा पौडेलले लैगिंक हिंसाको चपेटामा महिला र बालिका बढी पीडित भएकाले हिंसा न्यूनिकरण गर्न सबैको भूमिका महत्वपूर्ण रहको बताउँदै उहाँले अब भौतिक विकासमा मात्र जोड नदिएर मानवीय विकसलाई पनिसँगै लिनुपर्नेमा जोड दिनुभयो । कानूनी सचेतनाका कुराहरु थाहा नपाउँदा हिंसा बढीरहेको बताउँदै कानूनी सचेतनामा जोड दिनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘बहर बजारमा भन्दा पनि गाउँघरमा अधिकारका बारेमा थाहा नपाउँदा महिला तथा बालिकाहरु हिँसा भोग्न बाध्य छन् । अब सचेत गराउने कार्यक्रमको कार्ययोजना बनाएर गर्न आवश्यक छ ।’

यस्तै कार्यक्रममा अधिकारकर्मी जरमाया बाँठाले कानूनी सचेतनासँगै कानून कायान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले हिंसा प्रभावितलाई सहयोग पुग्ने कार्यक्रमहरु पनि संचालन गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।