अब्बल बन्दै प्रदेश अस्पताल, मृगौला प्रत्यारोपण सेवा शुरु हुँदै (भिडियोसहित)


९ माघ, सुर्खेत । सुर्खेत जिल्ला अस्पताल, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै अहिले संघीय संरचना सँगै परिवर्तित हुँदै बनेको प्रदेश अस्पताल (कर्णाली प्रदेश) अब्बल बन्दै गएको छ ।

कुनै समय थियो सुर्खेतमा चिकित्सकहरुको अभाव तर त्यो अभाव अहिले हटिसकेको छ । अहिले सुर्खेतमा प्रदेश अस्पताल भएसँगै सबै किसिमका विशषेज्ञ चिकित्सकहरु भेटिन कुनै मुस्किल नै पर्दैन । अब्बल बन्दै गैरहेको प्रदेश अस्पतालमा अहिले धेरैकिसिमका सेवा सुविधा कर्णालीका जनताले पाइरहेको देख्न सकिन्छ । यही सेवासुविधा अनी स्वास्थ्य विमा कार्यक्रमलाई सहि तरिकाले लागु गरे सँगै विरामीको चाप बढेको अस्पतालका निर्देशक डा डम्बर खड्का बताउनुहुन्छ ।

निर्देशक डा खड्का अनुसार आउँदो शनिवार १४ गते देखि प्रदेश अस्पताल मै मृगौला प्रत्यारोपण सेवा पनि शुरु गरिन लागेको छ । उहाँ भन्नुहुन्छ “अहिले हामीले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डा पुकार श्रेष्ठको नेतृत्वको समूहबाट प्रत्यारोपण सेवा शुरु गर्दैछौ साथै चाँडैले अस्पताल मै कार्यरत चिकिसत्कबाट नै प्रत्यारोपण सेवा शुरु गर्ने तयारी पनि गरिरहेका छौं ।”

पहिलेको तुलनामा अहिले विरामीको चाप धेरै बढेको छ । निर्देशक डा. खड्का भन्नुहुन्छ “स्वास्थ्य विमा कार्यक्रममा सहि तरिकाले लागु गर्ने देशको ५ उत्कृष्ट अस्पतालहरुमा हामी छौं त्यसैले पनि होला विरामीहरुको चाप बढेको ।”