२९ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त


२४ साउन, सुर्खेत । २९ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस (९अगष्ट)को अवसरमा कर्णाली प्रदेशवासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना वक्तव्यमा प्रदेश प्रमुख परियारले “पहिचान र अधिकारको सुनिश्चितताको लागी आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पुख्यौली भुमि, भाषा र संस्कृति संरक्षण गरौं” भन्ने मुल नाराका साथ र संयुक्त राष्ट्र संघले सन १९९४ मा आदिवासी जनजातिका आधारभुत मानवअधिकार संरक्षण र सम्बर्धनका लागी अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरका आदिवासी जनजातिहरुले यस दिवस मनाउदैं आएको पाइन्छ । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मुद्दालाई उठान गर्ने दिनका रुपमा प्रत्येक वर्षको ९ अगष्टका दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । विश्वका आदिवासीहरुले २९ वर्षदेखी मनाउदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरुले पहिचान झल्किने सास्कृतिक झाकीहरु समेत प्रर्दशन गरी विशेष उत्सवका साथ मनाउदै आएका छन ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसा“स्कृतिक एवं भौगोलीक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गिय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङगीक विभेद तथा सबै प्रकारका जातिय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशि र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प नेपालको संविधानले गरेको छ। नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफनो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन एवं संरक्षण गर्ने मौलिक हकको व्यवस्था समेत संविधानमा स्पष्ट उल्लेख छ। संवैधानिक र कानुनी रुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक राजनतिक र आर्थिक अधिकारको व्यवहारमा प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताको लागी शान्तिपुर्ण, संबैधानिक र लोकतान्त्रिक माध्यमबाट अघि बढ्ने तथा राष्ट्रिय आकांक्षालाई पुरा गर्न साझा दायित्व बोधकासाथ एकतावद्ध भई लाग्न आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस भन्ने कामना गर्दछु ।

अन्तमा: यस दिवसले सबै नेपालीबिच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज सामाजिक न्याय, सुशासन, सम्वृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु । उल्लेख गर्नुभएको छ ।