नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ?
सो जिज्ञासा पूरा गर्न रोबोट निर्माता आफूले लामो अध्ययनपछि तयार गरेका रोबोट लिएर यही असार ११ गते सैनिक प्रशिक्षण तथा तालिम केन्द्र राजदलगण लगनखेल, ललितपुरमा उत्रने भएका छन्।
सो प्रतियोगितामा त्रिवि, पूर्वाञ्चल विवि र काठमाडौँ विवि अन्तर्गतका विभिन्न इन्जिनियरिङ अध्यययन संस्थानका नौ समूह प्रतिस्पर्धामा उत्रने आयोजक संस्था इन्जिनियरिङ अध्ययन संस्थान, प्राविधिक अनुसन्धान तथा विकास केन्द्रका छात्र निशवन ढकालले जानकारी दिए।
नक आवट प्रक्रियामा खेलाइने सो खेलमा तीन मिनेटभित्र हरेक खेलमा हरेक रोबोटले प्रतीकात्मक रुपमा तराईबाट पोखरासम्म सञ्चारका उपकरण तथा मुस्ताङसम्म नुन बोकेर लान प्रतिस्पर्धा गर्नेछन्। उनले हरेक खेलमा सबैभन्दा छिटो नुनको भारी बिसाउने रोबोटले ‘सही हो’ उपाधि प्राप्त गर्ने जानकारी दिए।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका प्रतिनिधिलाई थाइल्यान्डको बैंककमा आगामी भदौमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा अवलोकनकर्ताका रुपमा संलग्न गराइने छ।
‘मुस्ताङ यात्रा’ नाम दिइएको सो प्रतियोगिताले प्रविधिको विकासमा फड्को मार्ने आयोजकले विश्वास लिएका छन्।
साभारः सेतोपाटी



Prawash Kumar Shakya । ४ असार २०७३, शनिबार १५:५८ बजे