
१५ फागुन, सुर्खेत । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको गलत इतिहासलाई हाल सम्म कायमै राखेकोले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन माग गर्दै आज देशभरका नेपाल पत्रकार महासंघको शाखाहरु मार्फत केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम तथा स्मरण पत्र हस्तान्तरण गर्ने क्रममा आज सुर्खेतमा ७ दिने अल्टिमेटम तथा स्मरण पत्र बुझाएको छ ।
फोनिज कर्णाली प्रदेश र सुर्खेत शाखाले आज नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल एवं कोषाध्यक्ष ललित गाहालाई संयूक्तरुपमा पत्र बुझाएको हो । पत्र बुझाउँदै फोनिज कर्णालीका अध्यक्ष प्रवाश कुमार शाक्य एवं फोनिज सुर्खेत शाखा अध्यक्ष मिलन श्रेष्ठले पत्र यथाशिघ्र केन्द्रमा पठाउन अनुरोध गर्नुभयो ।
पत्र बुझ्दै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारिता क्षेत्रमा अग्रजहरु भनेको इतिहास भएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको फोनिजको आन्दोलनमा केन्द्रले नै निर्णय गर्ने हुनेले ७ दिने अल्टिमेटम तथा स्मरण पत्र केन्द्रमा छिट्ट नै पठाउने छौं ।
यस्तो छ फोनिजको स्मरणपत्रः
नेपालका श्रमजीवि पत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपाल पत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपाल पत्रकार संघ’ हुँदै महासंघका रूपमा विशाल आकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।
अधिकारका लागि कलम चलाउनसमेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन । त्यो हिम्मत र साहस गर्नुहुने सत्यनारायण बहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सम्मान व्यक्त गर्दछ ।
वर्तमान महासंघको जग इतिहासबाट बनेको हो । अर्थात्, वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपाल पत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रूपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम हो ।
देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ ।
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौँ ।
(२०७९ सालमा बुझाइएको ज्ञापन पत्र स्मरणका लागि पुनः बुझाइएको ।)



Prawash Kumar Shakya । १५ फाल्गुन २०८०, मंगलवार १७:५३ बजे