सुर्खेतमा पनि मनाईयो विश्व रक्तदाता दिवस (भिडियोसहित)


३२ जेठ, सुर्खेत । २० औं विश्व रक्तदाता दिवस सुर्खेतमा पनि मनाईएको छ । कोपिला भ्याली सेवा समाज सुर्खेतको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कोपिला भ्याली परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरि विश्व रक्तदाता दिवस मनाईएको हो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले २०औं विश्व रक्तदाता दिवसको शुभकामना दिनुहुँदै समाजको नारा अनुसार सबै यूवायूवतीले आफ्नो १८औं बर्षको जन्मोत्सव सँगसँगै रक्तदान गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रो शरिरमा प्रत्येक ३/३ महिनामा रगत नयाँ उत्पादन भैरहन्छ त्यसैले हामीले खेर जाने रगतलाई मानवीय जीवनको सर्बोत्तम कार्यमा लाग्न अनुरोध गर्दछु ।”

त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक विकास गिरीले कोपिला भ्याली स्कूलका विद्यार्थीहरुलाई रगतका बारेमा तथा कस्ताकस्ता व्यक्तिले रक्तदान गर्न सकिन्छ भन्ने विद्यार्थीहरुको प्रश्नको उत्तर दिनुभएको थियो । यस्तै कोपिला भ्याली सेवा समाजका कार्यकारी निर्देशक टोप बहादुर मल्लले आजको दिनमा रक्तदान जस्तो पवित्र कार्य आयोजना गर्न पाएको खुशी लागेको बताउनुभयो ।

महिला १२ र १७ पुरुष गरि २९ जनाले रक्तदान गर्नुभएको कार्यक्रमको संयोजन नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष अशोक कुमार सिंहले गर्नुभएको थियोभने कार्यसमिति सदस्य मालती विके र सल्लाहकार सुशिलराज शर्माको उपस्थिति रहेको थियो ।