सुर्खेत जिल्लाका सार्वजनिक सरोकारका विषयमा पत्रकार महासंघ सुर्खेतले सार्वजनिक बहस पैरवी गर्ने


१० पौष, सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले पत्रकार अक्षय कोष व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ ।  आज (बुधबार) बसेको नवनिर्वाचित समितिको दोस्रो पूर्ण बैठकले सुर्खेत शाखामा दाताहरुबाट स्थापना भएको अक्षय कोषको अध्ययन गरी व्यवस्थित सञ्चालनका लागि कार्यदल गठन गरेको हो ।

उक्त कार्यदलले सुर्खेत शाखामा स्थापना भएका अक्षय कोषको प्रभावकारिताका बारेमा अध्ययन गरी महासंघलाई भावि रणनीतिका बारेमा सुझाव प्रदान गर्नेछ । ‘पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका अक्षय कोषहरुको अध्ययनगरी व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल पत्रकार महासघ सुर्खेत शाखाका पूर्व अध्यक्ष र प्रेस स्वतन्त्रता सेनानी पीताम्बर ढकालको संयोजकत्वमा उपाध्यक्ष सुशील खड्‌का, कोषाध्यक्ष दिपकजंग शाही, कार्यसमिति सदस्यहरु पंखबहादुर शाही र प्रभा रावत सदस्य रहेको पाँच सदस्यीय अधिकार सम्पन्न कार्यदल गठन गरिएको छ ।’

महासंघका अध्यक्ष सुशीलराज शर्माका अनुसार यो बैठकले पत्रकार महासघ सुर्खेत शाखाको कार्यालय नियमित रूपमा सञ्चालन गर्नका लागि एकजना कार्यालय सहायक नियुक्त गर्ने निर्णय गरेको छ । नवनिर्वाचित समितिलाई नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, महासंघ सुर्खेत शाखामा पुस्तकालय (ई-लाइब्रेरी समेत) स्थापना गर्ने, महासंघ सुर्खेत शाखाको आगामी ३ वर्षे कार्ययोजना निर्माण गर्ने बैठकले निर्णय गरेको छ । जसका लागि सचिव गोविन्द खत्रीको संयोजकत्वमा सहसचिवद्वय नविन सुवेदी र जगतदल जनाला विक, सदस्यहरु मनिषा गुरुङ्ग र दिनेश बुढा रहेको मस्यौदा समिति गठन गरिएको छ ।

त्यस्तै, महासंघले प्रत्यक्ष जनजिविकाका सवाल पनि उठाउने भएको छ । महासंघ एक अग्रणी नागरिक समाज संस्था भएको हैसियतले नागरिकसँग प्रत्यक्ष जोडिएका सुर्खेत जिल्लाका सार्वजनिक सरोकारका विषयमा सार्वजनिक बहस पैरवी गर्ने निर्णयसमेत गरेको छ । ‘संधै चर्चामा रहेको पश्चिम सुर्खेतको मदन भण्डारी राजमार्ग, कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइनमा देखिएको विवाद लगायतका विषयहरुमा सम्बन्धित निकायहरुलाई राखेर समाधानमुलक बहस गर्ने,’ महासंघले निर्णय गरेको छ ।