
पवन जायसवाल ।
नेपालगञ्ज । (बाँके) सिसिएन बाँकेद्वारा राप्ती सोनारी गाउँपालिका वार्ड नं.– २, कचनापुरमा आयोजित कार्यक्रममा बाँदर, बाघ, स्याल, र सुगा जस्ता वन्यजन्तुले ग्रामीण क्षेत्रका समुदायमा दिनदिनै समस्या सिर्जना गरिरहेको सहभागीहरुले बताएका छन् । यी वन्यजन्तुहरूले घरभित्रको अन्न देखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेका घटनाले गरीब किसानको जीविकोपार्जन कठिन बनेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नं.–नम्बर २, कचनापुरमा वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरुबारे गहिरो छलफल गरेका छन् ।
कार्यक्रममा बोल्दै जय दुर्गा यूवा क्लबका सदस्य विनोद मल्लले “जंगलबाट आउने गरेका बाँदरको बथानले दिनदिनै घरभित्रका अन्न र घरमा पकाइएका खानेकुरा नष्ट गनें गर्दछन । बाँदर धपाउनका लागि सधैं कोही न कोही घरमै बस्नुपर्ने बाध्यता रहेको छ ।” अर्की सहभागी संगीता कुमारी थारुले आफ्नो पीडा व्यक्त गर्दै भन्नुभयो, “पहिले हाम्रो घरमा कुखुरा पाल्थ्यौं, तर स्यालले खोरबाटै कुखुरा तानेर लग्ने भएपछि अहिले पाल्नै छोडेका छौं ।”
यसैगरी उक्त कार्यक्रममा प्रकाश थारुले गाउँमा सुगाको आक्रमक गतिविधिले किसानलाई खेती गर्न समेत निराश बनाएको बताउनुभयो । उनले भने, “सुगाको बथानले मकै, तोरी र धानजस्ता अन्नबाली सखाप पार्छ । राहतका लागि बुझ्दा केही पाइँदैन । यसले गरिब किसानको जीवन झनै कठिन बनाएको छ ।” सहभागी कपिल चौधरीले क्षतिको राहत प्रक्रियामा आउने समस्याबारे भन्नुभयो, “बाघले लगेको जनावरको फोटो प्रमाण मागिन्छ, जुन उपलब्ध गराउन असम्भव छ । राहतको प्रक्रिया झन्झटिलो भएकाले किसानहरुले निवेदन दिन मान्दैनन् ।”
सहभागी मनकामना थारुले आफ्नो कुरा राख्दै राहत प्रक्रियाका लागि आवश्यक कागजात र कार्यालय धाउँदा खर्चिलो हुने समस्यामाथि ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कागजात जुटाउन र कार्यालय जान जति खर्च हुन्छ, राहतको रकमले त्यसलाई पनि धान्न सक्दैन । यसले गर्दा पीडित परिवारहरुले राहतका लागि निवेदन दिनसमेत छोडेका छन् ।”
क्लब चौतारी कार्यक्रमले युवाहरुलाई आफ्ना अधिकार र चुनौतीबारे सचेत बनाउँदै समाधानका उपायहरु खोज्न प्रेरित ग¥यो । सहभागीहरुले राहत प्रक्रिया सरल बनाउनुपर्ने र स्थानीय निकायले प्रत्यक्ष निरीक्षणको आधारमा राहत दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उठेका मुद्दाहरुलाई समेट्दै सहजकर्ता प्रकाश उपाध्यायले भन्नुभयो, “यस कार्यक्रमले युवाहरुलाई समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्न उत्प्रेरित गरेको छ ।” सामूहिक प्रयास र दीर्घकालीन समाधानको पहलले वन्यजन्तु प्रभावित समुदायलाई सहयोग गर्ने आशा गरिएको छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा क्लब चौतारी गरिएको समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले जनाएको छ । कार्यक्रममा २६ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वार्ड नं.–२ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं.–२ मा सञ्चालित छ ।



Prawash Kumar Shakya । १४ पुष २०८१, आईतवार १५:४७ बजे