श्री रामको प्राण प्रतिष्ठाको वार्षिकोत्सवमा सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा


नेपालगन्ज । नेपाल भारतको सिमानासंग जोडिएको बाँके जिल्लाको सीमावर्ती क्षेत्र नगर पञ्चायत रुपइडिहामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको महोत्सव सम्पन्न भएको एक वर्ष पूरा भएको अवसरमा बुधवार विहान हर्षोल्लासका साथ भव्य कलश यात्रा निकालिएको समाचार छ । श्री रामको प्राण प्रतिष्ठा भएको प्रथम वार्षिकोत्सवको अवसरमा छिमेकी मित्रराष्ट्र भारतभर महोत्सवको रुपमा मनाइएको हो ।

सो अवसरमा नेपालगन्जमा पनि मिष्ठान्न वितरण गर्नुका साथै भण्डारा (सामूहिक भोज) गरिएको थियो । विश्वभरका हिन्दू धर्मावलम्वीहरुले आदर्श पुरुषको रुपमा प्राचीन कालदेखि सम्मान गर्दै आएको भगवान श्रीरामको धेरै वर्षको विवाद पछि उच्च अदालतको आदेश पश्चत् गत वर्ष जनवरी २२ तारिखका दिन रामको जन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यामा प्राण प्रतिष्ठा गरिएको थियो । उक्त घटना विश्वभर चर्चित रहेको थियो ।

रुपईडिहा पत्रकार संघका संरक्षक शेर सिंह कशौधनले दिनुभएको जानकारी अनुसार सनातन हिन्दू धर्मावलम्वहरु वीच लोकप्रिय तथा संघ प्रचारक सर्वेश, राजेन्द्र कुमार सिंह र राजुको नेतृत्वमा आयोजना गरिएको तथा भारत पेट्रोल पम्पबाट निकालिएको उक्त प्राण प्रतिष्ठा महोत्सवको कलश यात्रामा हजारौं हिन्दू धर्मावलम्वीहरुको सहभागिता भएको थियो । कलश यात्राका सहभागीहरुले भजन कीर्तन बाजागाजाका साथ रुपईडिहा नगर परिक्रमा गरेको थियो । कलश यात्रामा रुपईडिहा पत्रकार संघका संरक्षक शेर सिंह कशौधन, नगर पञ्चायत रुपइडिहा अध्यक्ष डा. उमाशंकर वैश्य र अध्यक्ष प्रतिनिधि डा. अश्विनी वैश्य, रुपइडिहा आदर्श थानाका प्रभारी इन्स्पेक्टर दद्दन सिंहले आफ्नो प्रहरी बल सहित सहभागी थिए । त्यसैगरि पूर्व ब्लक प्रमुख तेज प्रसाद वर्मा, सिंह भैया, कन्हैया वर्मा, सुरेश वर्मा, उमाशंकर विश्वकर्मा, राजकुमार शर्माको सहभागिता थियो । कलश यात्रामा नगरवासीहरुले पुष्प वर्षा गरेका थिए ।

श्रीराम, सीता र लक्ष्मण बनाएर सिंगारेर रथमा विराजमान गराइएको प्राण प्रतिष्ठा महोत्सव कलश यात्रा भारत पेट्रोल पम्पबाट शुरु भएर सरस्वती शिशु विद्या मन्दिर हुँदै रामलीला चौराहा, बजाज बजार, आजाद नगर हुँदै आदर्श नगर प्रहरी चौकी नेपालगन्ज सिमानामा पुगेर समापन गरिएको थियो । श्री हनुमान मन्दिरमा राम आरती र बजरंगबली आरती गरेर नगर परिक्रमा गर्दा भारत माता र जय जय श्रीरामको नारा लगाइएको थियो ।

स्मरणीय छ, विश्वभरका हिन्दू धर्मावलम्वीहरूले गत वर्ष जनवरी २२ तारिखका दिन विशेष रूपमा मनाएका थिए । विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र मध्ये भारतको अयोध्या पनि एक हो । भगवान श्री रामको जन्मभूमिको रूपमा प्रख्यात अयोध्यामा उक्त दिन निर्माण सम्पन्न भएको भगवान श्री रामको मन्दिरमा राम मूर्तिको विधिवत प्राण प्रतिष्ठा गरिएको थियो । सो अवसरमा एक सातादेखि विश्वभरका हिन्दूहरूले विभिन्न धार्मिक कार्यक्रमहरू गरेर उक्त दिनलाई उत्सवकै रुपमा मनाएका थिए । उक्त दिन विशाल राम मन्दिर बनाउने हिन्दूहरूको चाहना शताब्दीऔं पछि पूरा भएको थियो ।

नेपालको नेपालगन्ज, जनकपुर लगायतका प्रमुख शहरहरुमा एक सातादेखि दिन विशेष रुपमा मनाइएको थियो भने नेपालगन्जको मुटुमा रहेको त्रिभुवन चोक दुलही झैं सिंगारिएको थियो । आसपासका स्थानहरुमा विशेष रुपमा सजाइएको थियो भने ठाउँ–ठाउँमा भण्डारा र मिठाई वितरण गर्ने कार्यक्रम राखिएको थियो ।