
काठमाडौँ – डिजिटल प्रविधिको सहायताले स्वास्थ्य सेवा आमनागरिकसम्म पुर्याउने अभियानलाई तीव्रता दिँदै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र डिजिटल हेल्थ प्लेटफर्म ‘हेल्थ याद आयो’ बीच स्वास्थ्य सेवा आदान–प्रदानसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छे र हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत विमल बरालले हस्ताक्षर गर्नुभएको छ ।
यस सहकार्यले नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली तथा अन्य विदेशी नागरिकहरूलाई समेत उच्चस्तरीय उपचार सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ । विदेशबाटै सेवा लिन सकिने
सम्झौता अनुसार, अब विदेशमा रहेका नेपाली नागरिकले पनि ‘हेल्थ याद आयो’ एपमार्फत नेपालमा रहेका आफ्ना परिवारजनका लागि OPD सेवा, भर्ना प्रक्रिया, वेलनेस प्याकेज तथा विशेषज्ञ चिकित्सकहरूसँगको परामर्श लिन सक्नेछन् । ग्राण्डी अस्पतालले यस प्लेटफर्ममार्फत आउने विदेशी वा गैरआवासीय नेपालीलाई सहज र प्राथमिकतापूर्ण सेवा प्रदान गर्नेछ।
स्वास्थ्य सेवा अब मोबाइल एपमै
हेल्थ याद आयो एप प्रयोग गरेर प्रयोगकर्ताले:
– विशेषज्ञ चिकित्सक छनोट
– टेलिमेडिसिन सेवा
– ल्याब परीक्षण
– मेडिकल रिपोर्ट ट्र्याकिङ
– फार्मेसी सेवा (औषधि होम डेलिभरीसहित)
– एम्बुलेन्स तथा रक्त आपूर्ति सेवा
लगायत सुविधा सहज रूपमा प्राप्त गर्न सक्छन्। एपमार्फत बिरामीको सम्पूर्ण उपचार प्रक्रिया एउटै डिजिटल प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिन्छ ।
नेपालभित्र र छिमेकी देशसम्म सेवा विस्तार
हाल हेल्थ याद आयोले काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, नेपालगन्ज, विराटनगर, भैरहवा लगायतका शहरहरूमा सेवा दिइरहेको छ। साथै भारत, मलेसिया, थाइल्याण्ड र सिंगापुरका प्रतिष्ठित अस्पतालहरूसँग भर्चुअल परामर्श सेवा समेत उपलब्ध गराइएको छ ।
डिजिटल स्वास्थ्य सेवा: अबको यथार्थ
समारोहमा डा. विजुक्छेले “नेपालमा मेडिकल टुरिजम प्रवर्द्धन गर्न र स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन यो सहकार्य प्रेरणादायी हुनेछ” भन्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, हेल्थ याद आयोका CEO बरालले भन्नुभयो, “यो एप केवल सेवा दिने माध्यम होइन, नागरिकलाई स्वास्थ्यसम्बन्धी निर्णय लिन सक्षम बनाउने एक डिजिटल सशक्तिकरण अभियान हो ।”
‘हेल्थ याद आयो’ का परिकल्पनाकार
कम्पनीका संस्थापक तथा परिकल्पनाकार कम्प्युटर इन्जिनियर प्रज्वल चुकेका अनुसार, “हामीले यो प्लेटफर्म सिर्जना गर्दा सोच्यौं – बिरामीलाई अस्पताल धाउनु नपरी घरमै सबै सेवा प्राप्त होस्। आज त्यो सम्भव भएको छ ।” उहाँले थप गर्नुभयो, “उपचारमा लाग्ने समय, खर्च र प्रक्रिया सबैबारे जानकारी उपचारअघि नै पाउने व्यवस्था गरिएको छ । विदेश जाने बिरामीका लागि यात्रा, आवास र भिसा समन्वयसमेत हामी गर्छौं ।”
नेपालजस्तो विकट भूगोल भएको देशमा स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयोबीच भएको सहकार्य डिजिटल स्वास्थ्य क्रान्तितर्फको स्पष्ट पाइला हो । अब ‘हेल्थ याद आयो’ भन्नासाथ लाइन, टोकन र झन्झट होइन – सहज, छरितो र विश्वसनीय सेवाको अनुभूति हुनेछ ।



Prawash Kumar Shakya । ३ असार २०८२, मंगलवार १५:१५ बजे