
वीरेन्द्रनगर । एक्कासि जमिन हल्लियो, घरहरू भत्किए । चारैतिरबाट ‘बचाउ-बचाउ’ को आवाज आयो । केहीबेरमै आगलागी र सवारी दुर्घटनाको दृश्यले स्थिति थप भयावह बन्यो । तर, यो कुनै वास्तविक विपद् नभएर कर्णाली प्रदेश सरकारले आयोजना गरेको विपद् पूर्वतयारीको कृत्रिम अभ्यास थियो ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले वीरेन्द्रनगरको खुल्लामञ्चमा भूकम्प, आगलागी, सवारी दुर्घटना र पहिरो जस्ता विपद् आइपर्दा कसरी ज्यान बचाउने र उद्दार गर्ने भन्नेबारे जीवन्त अभ्यास गरेको हो । कार्यक्रमको उद्देश्य वास्तविक विपद्को समयमा हुने मानवीय तथा भौतिक क्षतिलाई कम गर्नु रहेको आयोजकले बताएको छ ।
अभ्यास कार्यक्रममा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कुनैपनि प्रकोप जुनसुकैबेला जान सक्ने भएकाले हामी सबै त्यसको प्रतिकार र आफनो सुरक्षाका लागि तयार भएर बस्नु पर्ने बताउनुभयो । उहाँले बाढी पहिरो, आगजनी, भूकम्पजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा कर्णाली प्रदेश रहेको बताउँदै तीनै तहका सरकारले यसका लागि पूर्व तयारी गर्नुपर्ने औल्याउनुभयो । ‘यस्ताखाले अभ्यासले भूकम्प, आगजनी र बाढी पहिरोसँगै जलवायुजन्य विपद्का बखत जनशक्ति तथा आवश्यक खोज एवम् उद्दार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्नेछ,’ उहाँले भन्नुभयो, ‘विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने बताउँदै विपद्मा काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकार तयार रहेको छ ।’ यस्ता अभ्यासबाट दक्ष जनशक्तिको सीप प्रदर्शन र उपलब्ध उद्दार सामग्री चुस्तदुरुत रहने कुरा उल्लेख गर्दै स्थानीय तहहरुले पालिकास्तरमा पनि कृत्रिम घटना अभ्यासलाई निरन्तर दिनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापती लिलाराम सुबेदीले उद्दार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःर्ताजगीका लागि खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कृत्रिम घटना अभ्यास गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय समुदायको क्षमता अभिवृद्धिसँगै खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ भूकम्प, बाढी तथा पहिरो र आगजनीमा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, तालिम प्राप्त रेडक्रसका स्वयंसेवकहरु लगाएतको सहयोगमा भूकम्प, आगजनी र बाढीपहिरोको कृत्रिम घटना अभ्यास एवं घाइतेको भूमिकामा रहेका व्यक्तिहरूलाई उद्दार गर्ने, प्राथमिक उपचार दिने र सुरक्षित स्थानमा लैजाने दृश्य वास्तविक जस्तै देखिएको थियो ।
यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले विपदद्वारा क्षति पुग्ने र विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय भएको हुनाले विपद् जोखिम न्यूनीकरणमा जागरुक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जु गरी प्रतिकार्यलाई प्रभावकारी तवरले वडास्तरमा परिचालित गरिएको जानकारी दिनुभयो । उहाँले कृत्रिम पूर्व तयारी अभ्यासले विपद्का बेला खोज तथा उद्दार गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने तथा भविष्यमा हुन सक्ने मानवीय, आर्थिक एवम् भौतिक क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुष्पराज शाहीले अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष बढी वर्षा हुने अनुमान मौसम विभागले गरेको हुँदा बाढीपहिरो र डुबान पनि बढी हुने सम्भावना रहेकाले अहिले बाटै सोको क्षति कम गर्नका लागि प्रदेश विपद् व्यवस्थापन समितिले पूर्व तयारीहरु गर्दै आएको बताउनुभयो । उहाँले वर्षा नजिकिँदै गएकाले प्रदेशमा भूकम्प, आगजनी, बाढी र डुबानजस्तो विपदद्बारा हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास गरेर सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । कृत्रिम घटना अभ्यासले उद्दारकर्मीहरुको क्षमता वृद्धि हुने र भएका कमीकमजोरीलाई सुधार गर्न मिलने हुँदा यो अति नै राम्रो कार्य भएको उहाँको भनाइ थियो ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अभिषेक ओझाले सहजीकरण गर्नुभएको थियो । अभ्यासमा ७५ जना सुरक्षाकर्मी सहित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पत्रकार र स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो । यस अभ्यासले विपद्को समयमा संयमित र संगठित भएर काम गर्न सबैलाई तयार पार्ने अपेक्षा गरिएको छ ।




Prawash Kumar Shakya । २ असार २०८२, सोमबार २२:४३ बजे