“जीवनसँग जोडिने बहुपयोगी बिरुवा रोपौं”-मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वातावरण संरक्षण मात्र नभई दैनिक जीवनमा प्रत्यक्ष उपयोगमा आउने फलफूल तथा बहुपयोगी बिरुवा रोप्नुपर्नेमा जोड दिनुभएको छ । डिभिजन वन कार्यालय, सुर्खेतको आयोजनामा सुरु भएको वृहत वृक्षारोपण सप्ताहको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले बिरुवा रोप्ने कार्य देखावटी हैन, जीवन उपयोगसँग जोडिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामीले यस्तो बिरुवा रोप्नुपर्छ जसले फल दिन्छ, छायाँ दिन्छ र आर्थिक लाभ दिन्छ । यसले वातावरण जोगाउँछ मात्र होइन, आम नागरिकको जीवनस्तर उकास्न पनि योगदान पुर्‍याउँछ ।”

कार्यक्रममा मुख्यमन्त्री कँडेलले वृक्षारोपणलाई एकदिने गतिविधिका रूपमा नभई दीर्घकालीन अभियानको रूपमा लैजानु आवश्यक रहेको स्पष्ट पार्नुभयो । “वृक्ष रोपिन्छ, तर संरक्षण हुँदैन भन्ने प्रवृत्तिबाट बाहिर निस्कनु पर्छ । अब रोपण सँगै रेखदेख र संरक्षणमा पनि ध्यान दिनु आवश्यक छ,” मुख्यमन्त्रीले भनाई थियो ।

वन विनाश, भूक्षय, सुख्खा, असिनापानीलगायतका प्राकृतिक समस्यालाई वृक्षारोपणमार्फत न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै उहाँले प्रदेश सरकारले हरित विकासलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । “वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तीकरण, वातावरणमैत्री खेती र हरियाली विस्तारलाई स्थानीय तहहरूसँग सहकार्य गरेर दीर्घकालीन योजनामार्फत अघि बढिरहेका छौं,” उहाँले भन्नुभयो ।

वृक्षारोपण सप्ताहको पहिलो दिनको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कर्मचारी, विद्यार्थी, सामाजिक अभियन्ता, सुरक्षा निकाय तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले विभिन्न जातका बहुपयोगी बिरुवाहरू रोपे थिए ।