तेरिया र मीराबाट सिकौं


teriya-mira-5891633704db99.11042675देश यतिबेला अव्यवस्था, अराजकता र अनैतिकताको चरम अवस्थाबाट गुज्रिइरहेको छ । देशको विद्यमान अवस्था हेर्दासामान्य नागरिकहरू निराश बन्नुपर्ने वा आक्रोशित हुनुपर्ने स्थिति रहेको छ । यो अवस्था सिर्जना गर्ने मूल कारक भनेका अरू कोही नभएर राष्ट्रका कथित अगुवा हुन् । थप कुरा देशमा यस किसिमको अवस्था सिर्जना हुन पुग्दा पनि आफूलाई चेतनशील एवं राष्ट्रवादी हौं भन्नेहरूबाट कुनै विकल्प प्रस्तुत गर्ने कुरो त छोडिदिऊँ, त्यसको विरोधमा सशक्त आवाजसम्म उठ्ने गरेको पाइँदैन ।

उल्टै धेरैको जोड वर्तमान अवस्थाबाट सकेसम्म फाइदा लिएर छिट्टै मालामाल बन्ने रहेको पाइन्छ । जनमानसमा व्याप्त यस किसिमको मानसिकताबाट हौसिएका समाजविरोधी, राष्ट्रघाती तत्वहरू पनि मर्यादाका सबै सीमाहरू नाघ्दै नग्न रूपमा प्रस्तुत भइरहेका छन् । अझ उनीहरू नै जनतासामु आदर्श छाँटिरहेका छन् ।

कृष्ण वेलबासे

तर ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ भनेजस्तै यस किसिमको अवस्थाबीच पनि नेपाली समाज यसका दुस्मनहरूले चाहेकै गतिमा पतन भइसकेको रहेनछ भनी आशा गर्ने केही लक्षणहरू देखा पर्ने गरेका छन् । जुन कुराको प्रमाण हो, धुर्मुस-सुन्तली (सीताराम-कुञ्जना) अनि कुलमान घिसिङजस्ता प्रतिभाहरूको उदय ।

नेपाली समाजमा धुर्मुस-सुन्तली र कुलमानहरू मात्र होइन, त्यस्ता अनेकौं सिर्जनात्मक प्रतिभाहरू छन्, जो अवसर पाउँदाबित्तिकै निहित स्वार्थको साँघुरो घेराभन्दा माथि उठेर आफ्नो क्षमताको माध्यमबाट नेपाली समाजलाई उन्नत र गर्व गर्नलायक बनाउन पछि पर्दैनन् भन्ने कुराका एकपछि अर्को उदाहरण फेला पर्दैछन्, जुन स्वाभिमानी नेपालीहरूको लागि सुखद सन्देश हो ।

विगत केही दिनमा दुईजना नेपाली चेलीहरूले आफ्नो लगन र क्षमता प्रदर्शन गरेर अन्तर्राष्ट्रिय स्तरमै आफ्नो मात्र नभएर देशकै प्रतिष्ठालाई उँचो पार्न सफल भएका छन् । उनीहरूले यस किसिमको कार्य कसैको दलाली गरेर नभई आफ्नै बलबुतामा सम्पन्न गरेका हुन् । यसो गरेर उनीहरूले लगन र आँट भयो भने महिलाले पनि धेरै कुरा गर्न सक्छन् । यसका लागि उनीहरूलाई आरक्षण वा त्यस्तो कुनै संरक्षणको आवश्यकता पर्दैन भन्ने कुरासमेत प्रमाणित गरिदिएका छन् ।

देशमा यतिबेला एकथरी महिलाले आफ्नो क्षमता प्रयोग गरेर हैसियत निर्माण गर्नुको सट्टा राज्यले हामीलाई केही दिएन । पुरुषप्रधान समाजले हाम्रो बाटो छेकिदियो भन्दै कोकोहोलो गर्ने र आरक्षणकै बलमा अवसर प्राप्त गरेर पनि खासै केही गर्न नसकिरहेका बखत यी चेलीहरूका कार्य सबैको लागि प्रेरणादायी बनेका छन् भने अर्कोतर्फ राष्ट्रिय जीवनका हरएक क्षेत्रलाई भ्रष्टीकरण गरेर कुनै सकारात्मक सोचको विकास हुन नदिई आफ्नो निहित स्वार्थ सिद्धिलाई ध्येय बनाएका कथित पुरुष अगुवाहरूको लागि दह्रो चुनौती सावित भएका छन् ।

नेपाली भूमिमा जन्मिई अभावमै हुर्किएर राष्ट्रको तर्फबाट प्रेरणा एवं सहयोग प्राप्त नगरी आफ्नै क्षमताको बलमा महान् कार्य गर्ने ती चेलीहरू हुन्, रूपन्देहीमा जन्मिएकी तेरिया मगर र भोजपुरमा जन्मिएकी मीरा राई ।
नृत्य एवं गीत संगीतप्रति रुचि राख्नेहरूलाई थाहा भएकै कुरा हो, रूपन्देहीकी तेरिया मगरले भर्खरै भारतमा सर्वाधिक चर्चित एउटा राष्ट्रिय स्तरको नृत्य प्रतियोगितात्मक कार्यक्रम ‘झलक दिखला जा, सिजन- ९’ (२०१६) को उपाधि प्राप्त गरेकी छिन् । यो कार्यक्रममा उनले भारतका प्रतिभावान् कोरियोग्राफरलाई पछाडि पार्दै आफूलाई उत्कृष्ट प्रमाणित गर्न सफल भएकी हुन् ।

तेरियाले यसअघि अर्को त्यस्तैखाले कार्यक्रम ‘डान्स इन्डिया डान्स, सिजन- ३’ (२०१४) को उपाधि समेत प्राप्त गरेकी थिइन् । प्रतिभावान् तेरियालाई उक्त कार्यक्रमका क्रममा सोधिएको प्रश्नको उत्तर दिँदै उनले, ‘म यो प्रतियोगिता जितेर केटीहरू केटाभन्दा कुनै पनि किसिमले कमजोर छैनन् भन्ने देखाउन चाहन्छु’ भनेकी थिइन् । यस किसिमको दृढ अठोट लिएर प्रतियोगितामा होमिएकी तेरियाले अन्ततः आफ्नो अठोटलाई यथार्थमा परिणत गरेरै देखाई छोडिन् ।

प्रतियोगिताका क्रममा तेरियाका बाबु वैदेशिक रोजगारमा कतारमा रहेका थिए भने उनी आफ्नी आमा र दिदीसँगै मुम्बईमा बसेर नृत्य अभ्यास सँगै प्रतियोगितामा सहभागी रहेकी थिइन् । तेरियाको लगन र क्षमताप्रति गर्व गर्दै उनकी आमाले ‘तेरिया मेरी कान्छी छोरी हुन् । उनीभन्दा माथि जेठी छोरी छिन् ।

हामीले जेठी छोरी जन्मिएपछि अर्को सन्तान छोरा होस् भन्ने चाहना राख्दाराख्दै पनि छोरीका रूपमा जन्मिएकी तेरियाले वास्तवमा हामीलाई गर्व गर्ने अवस्थामा पु‍र्‍याएकी छिन् । जुन कुरा छोरा जन्मेको भए सम्भव हुँदैनथ्यो होला’ भनेकी थिइन् ।

कमै उमेरकी तेरियाले प्राप्त गरेको सफलता उनको आफ्नो निजी प्रयासबाट सम्भव भएको हो । जुन कुरामा उनको परिवारको साथ रह्यो । सोसँगै उक्त कार्यक्रम हेर्ने र उनको प्रतिभावाट प्रभावित भई उनलाई मतदान गर्ने नेपालीहरूको समेत योगदान रह्यो । तर तेरियाले त्यसको बदलामा नेपाल र नेपालीहरूलाई धेरै कुरा दिएकी छिन् ।

उनले सानो र गरिब राष्ट्रका नागरिक भईकन पनि नेपालीहरू क्षमता र प्रतिभाको हिसाबले भारत जस्तो ठूलो मुलुकका नागरिकहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । प्रतिस्पर्धा मात्र गर्ने होइन, उनीहरूलाई पराजितसमेत गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गरेर देखाइदिएकी छिन् । यसर्थमा तेरिया साँच्चिकै नेपाली छोरी हुन् र उनीप्रति सम्पूर्ण नेपालीहरूले गर्व गर्नुपर्दछ । उनबाट प्रेरणा लिनुपर्छ ।

प्रत्येक नेपालीले तेरिया र मीराबाट सिक्दै आफूलाई अर्कोको दयामाया र गलत तरिकाबाट नभएर आफ्नो क्षमताका आधारमा स्थापित गर्न सक्नुपर्छ । यसो हुन सक्यो भने मात्र समाजमा योग्य, सक्षम र प्रतिभावान् व्यक्तिहरू अगाडि आउने वातावरण तयार हुनेछ ।

तेरियाले जस्तै अर्को गर्व गर्नलायक कार्य भोजपुरकी चेली मीरा राईले गरेकी छिन् । उनले भर्खरै नेसनल जियोग्राफीले प्रदान गर्ने ‘एडभेन्चर अफ द इयर’ अवार्ड हासिल गरेकी छिन् । उनी सो प्रतिस्पर्धामा अन्तिम चरणमा छानिएका दस अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड जित्न सफल भएकी हुन् । यसअघि इटली, हङकङ, फ्रान्स र स्पेनमा भएका प्रतिस्पर्धाहरूमा आफ्नो श्रेष्ठता सावित गर्दै आएकी मीराले अन्ततः एभरेस्ट म्याराथनसमेत जितेपछि ‘एडभेन्चर अफ द इयर’ मा छनोट भएकी हुन् ।

पूर्वमाओवादी लडाकुको रूपमा समेत कार्य गरिसकेकी मीरालाई शान्ति प्रक्रियाअन्तर्गत सैन्य प्रमाणीकरणमा अयोग्य ठहर गरिएपछि उनले आफूलाई अल्ट्रा धाविकाको रूपमा प्रस्तुत गरिन् र अन्ततः आफूलाई उक्त उपाधिको लागि सक्षम प्रमाणित गरेर देखाइन् ।

यसबाट हिजो मीरालाई अयोग्य साबित गर्नेहरू नै अयोग्य रहेका र क्षमतावान् व्यक्ति एक न एक दिन सफल भएरै छोड्छ भन्ने कुरा प्रमाणित हुन पुगेको छ । यद्यपि मीराले समेत उक्त उपाधि भोटिङका आधारमा प्राप्त गरेकी हुन्, तापनि यसमा उनको आफ्नै लगन र क्षमता प्रमुख कुरो रह्यो । यसरी मीराले नेपालकै गौरव र प्रतिष्ठा बढाउने कार्य गरेकी छन् । यसप्रति पनि प्रत्येक नेपालीले गौरव गर्नुपर्छ । उनीजस्ता प्रतिभाहरूलाई सम्मान र हौसला प्रदान गर्नुपर्छ ।

तेरिया र मीराले जुन प्रकारको सफलता हात पारे, त्यसप्रति राष्ट्रको कुनै लगानी परेको छैन । यो उनीहरूले आरक्षण वा सुविधाको रूपमा प्राप्त गरेको उपाधि वा सम्मान पनि होइन । तर यसले देशको शान बढाएको छ । प्रत्येक नेपालीको स्वाभिमान र प्रतिष्ठालाई माथि उठाएको छ ।

राज्यको जिम्मेवार पदमा रही राज्यकै ढुकुटीबाट तलब, भत्ता र सुविधा ग्रहण गर्दै राज्यको सुरक्षा घेराभित्र रहेर राज्यविरुद्ध गतिविधि जारी राख्नेहरूले हालिमुहाली गरिरहेको मुलुकमा नागरिक स्तरबाट हुने यस किसिमका योगदानहरूको विशेष महत्व रहेको हुन्छ । त्यसैले यो प्रशंसायोग्य छ ।

देशमा यतिखेर सामान्य अवसर प्राप्तिको लागि पनि या त कुनै सत्ताधारी दलको सदस्यता प्राप्त गर्नुपर्ने वा राज्यले प्रदान गर्ने आरक्षणको भागीदार बन्नुपर्ने अवस्था छ । त्यसो हुन नसके आफ्नो क्षमता र प्रतिभालाई नै अभिशाप ठान्नुपर्ने अवस्था र मानसिकताको विकास भइरहेको छ ।

अनि त्यस किसिमले कुनै पद र अवसर प्राप्त गर्नेहरूले भने आफ्नो सक्षमता प्रदर्शन गर्न नसकेर जग हँसाउने कार्य गरिरहेका छन् । यस किसिमको राष्ट्रिय परिप्रेक्षमा तेरिया र मीराले आफ्नै साहस, लगन र बलबुतामा उपाधि हासिल गर्नु भनेको चानेचुने कुरा होइन । यसको प्रत्येक नेपालीले सराहना गर्नुपर्छ ।

आफूहरू पनि उनीहरूजस्तै आफ्नो क्षमतामा उभिने आँट गर्नुपर्दछ । यसभन्दा बढी तेरिया र मीराको कार्यबाट देशका कथित अगुवाहरूले धेरै सिक्नुपर्दछ । कारण हामीले देखेका छौं, सहिद परिवारलाई छुट्ट्याइएका अवसरहरू नेताका सन्तानहरूले हत्याउने गरेका छन् । अनि आफ्ना सन्तानहरूलाई विदेशमा अध्ययन एवं अन्तर्राष्ट्रिय संस्थाहरूमा जागिर दिलाउने स्वार्थको लागि कथित नेता, मन्त्री तथा प्रशासकहरूले राष्ट्र हितलाई तिलान्जली दिने कुरा हामीकहाँ बहादुरीको विषय बन्ने गरेको छ ।

अझ आफ्नो सत्ता स्वार्थ पूर्तिको लागि मुलुकलाई विभाजन गर्नुपर्ने माग राख्नेहरू पनि यहाँ छन् । जुन कुरोलाई तेरिया र मीराहरूले चुनौती दिने कार्य गरेका छन् । त्यसैले प्रत्येक नेपालीले तेरिया र मीराबाट सिक्दै आफूलाई अर्कोको दयामाया र गलत तरिकाबाट नभएर आफ्नो क्षमताका आधारमा स्थापित गर्न सक्नुपर्छ ।

यसो हुन सक्यो भने मात्र समाजमा योग्य, सक्षम र प्रतिभावान् व्यक्तिहरू अगाडि आउने वातावरण तयार हुनेछ । त्यति मात्र नभएर योग्य र सक्षम व्यक्तिहरूको कदर हुने र उनीहरू जिम्मेवार स्थानमा स्थापित हुन सके समाज र राष्ट्र सकारात्मक दिशातर्फ उन्मुख हुने अवस्था तयार हुनेछ ।