२५ चैत्र । बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर कोर्टले धरौटीमा रिहा गरे लगत्तै उनको नेपाल दबंग टुरको मिति घोषणा गरिएकोे छ । उनलाई दुई कालो हरिण शिकारको मुद्धामा बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।जेलबाट छुटेको केही घण्टामा नै नेपालको आयोजक संस्था ओडिसीलाई एक पत्र मार्फत दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको छ ।
पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने छ ।
जोधपुरको अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि सलमानको बैशाख पहिलो साता हुने भनिएको नेपाल टुर अन्योलमा परेको थियो । अब नेपालको आयोजक संस्थाले ‘दबंग द टूर नेपाल’ का लागि टिकट विक्रि फेरि सुरु गरेको छ ।
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गतेको ‘द दबंग टुर’ कार्यक्रम तत्काललाई स्थगित गरेको थियो ।
साभारः फिल्मीखबर अनलाइन



Milan Shrestha । २५ चैत्र २०७४, आईतवार १४:१२ बजे