
पवन जायसवाल
नेपालगन्ज (बाँके) । प्रगतिशील लेखक संघ (प्रलेस) नेपाल, बाँके शाखाले शनिबार एक भव्य कार्यक्रमका बीच ‘परिवर्तन’ पत्रिकाको लोकार्पण तथा ‘कल्पध्वनि’ लघुकथा सङ्ग्रहको समीक्षा सम्पन्न गरेको छ । खजुरा गाउँपालिकास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा आयोजित उक्त साहित्यिक जमघटमा स्रष्टाहरूलाई सम्मान तथा बधाई ज्ञापनसमेत गरिएको थियो ।
प्रलेस बाँकेकी अध्यक्ष चरित्रा शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रलेसका केन्द्रीय सचिव तथा प्रमुख अतिथि हरि प्रसाद तिमिल्सिनाले ब्यानर वाचन गरेर गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरूले संयुक्त रूपमा ‘परिवर्तन’ पत्रिकाको लोकार्पण गर्नुभएको थियो । प्रलेस बर्दियाका अध्यक्ष तथा समीक्षक प्रभात सुवेदीले पत्रिकाको गहन समीक्षा गर्नुभयो । त्यसैगरी, कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित ‘कल्पध्वनि’ लघुकथा सङ्ग्रहमाथि समीक्षक ईश्वरी प्रसाद रिजालले आफ्नो विश्लेषणात्मक धारणा राख्नुभएको थियो ।
कार्यक्रममा साहित्य र संगठनमा योगदान पुर्याएकोमा प्रलेसका पूर्व पार्षद मीना बराललाई दोसल्ला र सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै केन्द्रीय सचिवालय सदस्यमा कल्पना पौडेल ‘जिज्ञासु’, केन्द्रीय सदस्यमा मणिदेव अर्याल, र केन्द्रीय पार्षदमा लेक प्रसाद प्याकुरेल निर्वाचित भएकोमा बधाई दिइएको थियो । नवनिर्वाचित उपाध्यक्ष गणेश कार्की, सह–सचिव सुन्दर गुरुङ तथा सदस्यहरू भरत रानाभाट र टंक प्रसाद आचार्यलाई अबीर र माला लगाएर शुभकामना व्यक्त गरिएको थियो यस्तै विद्यावारिधि उपाधि हासिल गर्नुहुने खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. ईन्द्र बहादुर भण्डारी, डा. खोपीराम ओली, र डा. पुष्करनाथ रिजाललाई बधाई दिइएको थियो भने नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा ऋषिराम सापकोटालाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि प्रसाद तिमिल्सिना, खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. ईन्द्र बहादुर भण्डारी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, वरिष्ठ साहित्यकार गणेश जिसी लगायतका वक्ताहरूले यस्ता कार्यक्रमले साहित्यिक जागरण ल्याउने र स्रष्टाहरूलाई ऊर्जा प्रदान गर्ने बताउनुभयो ।
‘कल्पध्वनि’ लघुकथा सङ्ग्रहकी कृतिकार कल्पना पौडेल ‘जिज्ञासु’ ले आफ्नो कृतिमाथि भएको समीक्षाका लागि आभार प्रकट गर्नुभयो । सभाध्यक्ष चरित्रा शाहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्रष्टा तथा सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रममा भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बहादुर बस्नेत, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर नाथ रिजाल, अधिवक्ता भीम बहादुर शाही, पूर्णतारा फाउन्डेशनकी अध्यक्ष तारा कुमारी रोकाया लगायत करिब ५० जना साहित्यकार, शिक्षाविद् तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रलेस बाँकेकी इन्दिरा गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुन्दर गुरुङले राख्नुभएको थियो ।




Prawash Kumar Shakya । २३ असार २०८२, सोमबार १२:४६ बजे