
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सको सुर्खेत शाखाले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत एक उदाहरणीय कार्य सम्पन्न गरेको छ । कम्पनीले श्रावण महिनाको अन्तिम सोमबारको भोलीपल्ट आज (मंगलवार) वीरेन्द्रनगर नगरपालिका-९ स्थित ऐतिहासिक लाटीकोइली शिव मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।
पवित्र श्रावण महिनामा दर्शनार्थीहरूको विशेष घुइँचो लाग्ने यस प्रसिद्ध मन्दिरको सौन्दर्य र स्वच्छतालाई ध्यानमा राख्दै वर्ल्डलिङ्कले उक्त कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा वर्ल्डलिङ्क सुर्खेत शाखामा कार्यरत ३० जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले मन्दिर परिसरमा छरिएर रहेका फोहोर संकलन गर्ने, झाडी सफा गर्ने तथा समग्र वातावरणलाई स्वच्छ र आकर्षक बनाउने काम गरेका थिए ।
वर्ल्डलिङ्कले आज नै मन्दिर परिसरमा दिगो स्वच्छता कायम राख्नका लागि विभिन्न स्थानमा डस्टबिनहरू समेत राखेको छ । यसले दर्शनार्थीहरूलाई फोहोर व्यवस्थापनमा सहजता प्रदान गर्ने र मन्दिरलाई सधैँ सफा राख्न मद्दत पुग्ने विश्वास लिइएको छ । यसका साथै, आजको डिजिटल युगको आवश्यकतालाई आत्मसात् गर्दै वर्ल्डलिङ्कले मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूका लागि निःशुल्क वाई-फाई (Free Wi-Fi) सेवाको समेत शुभारम्भ गरेको छ । यो सुविधाले दर्शनार्थीहरूलाई आफ्ना अनुभवहरू अनलाइनमार्फत साट्न, आफ्ना परिवारजनसँग सम्पर्कमा रहन र आवश्यक जानकारी प्राप्त गर्न सहज हुने वर्ल्डलिङ्कले विश्वास लिएको छ ।
वर्ल्डलिङ्क सुर्खेत शाखाका प्रमुख नवराज शर्मा भन्नुहुन्छ “वर्ल्डलिङ्क केवल इन्टरनेट सेवा प्रदायक मात्र नभएर समाजको एक जिम्मेवार सदस्य पनि हो । हामीले आफ्नो व्यवसायसँगै स्थानीय संस्कृति, सम्पदा र वातावरण संरक्षणमा पनि योगदान पुर्याउनु हाम्रो कर्तव्य ठानेका छौं । यो ऐतिहासिक शिव मन्दिरमा गरिएको सरसफाइ र निःशुल्क वाई-फाई सेवा त्यही प्रतिबद्धताको एक सानो प्रयास हो ।” उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो ।



Prawash Kumar Shakya । २७ श्रावण २०८२, मंगलवार १७:०२ बजे