कास्कीमा स्वयंसेवी रक्तदाता समाजको दोस्रो साधारण सभा: रक्तदान नै जीवनको उपहार


पोखरा, १० साउन । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाले आफ्नो दोस्रो वार्षिक साधारण सभा आज पोखरामा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले पानसमा दीप प्रज्ज्वलन गरी सभाको उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि खड्काले नेपाल स्वयंसेवी रक्तदाता समाजको सक्रियताका कारण कास्कीमा रगतको अभाव कम हुँदै गएको बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा कास्कीमा निःशुल्क रगत वितरण भइरहेको जानकारी पनि दिनुभयो । खड्काले भन्नुभयो, “स्वयंसेवी रक्तदाताहरूको यो निस्वार्थ सेवाले धेरैको ज्यान बचाएको छ, यो मानवताको उत्कृष्ट उदाहरण हो ।”

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारीले रक्तदाताले दान गरेको रगत कसैको जीवन बचाउने मात्र नभएर आशाको किरण, जीवनको उपहार र मानवताको प्रतीक भएको बताउनुभयो । उहाँले रक्तदानको महत्व दर्शाउने उत्प्रेरक कविता समेत वाचन गर्नुभएको थियो ।

यसैगरी, नेपाल औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष धिरज गौतमले रगतको कुनै जात, धर्म र राजनीति नहुने बताउँदै रक्तदान जस्तो पवित्र कार्यमा सक्रिय भूमिका निर्वाह गरेकोमा नेपाल स्वयंसेवी रक्तदाता समाज धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।

समाजका सल्लाहकार सूर्य प्रसाद ढकालले नेपाल स्वयंसेवी रक्तदाता समाज स्वास्थ्य क्षेत्रमा एक अनुकरणीय संस्थाको रुपमा स्थापित भएको धारणा राख्नुभयो । कार्यक्रममा सल्लाहकारहरु जितेन्द्रमान शाक्य र सुवर्ण राज पन्तले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष लेखनाथ रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव विशाल अर्यालले संस्थाको सोच र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका सभापति समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले पोखरामा दैनिक करिब १०० पिन्ट रगतको आवश्यकता रहेको बताउँदै १८ वर्षको जन्मोत्सव मनाउने हरेक युवालाई रक्तदान जस्तो पवित्र कार्यमा संलग्न हुन आग्रह गर्नुभयो । “हरेक स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्ने हो भने रगतको अभाव सधैँका लागि अन्त्य हुनेछ यहाँ रगत लिने भन्दा रगत दिनेको भिड हुनेछ ।” उहाँले भन्नुभयो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव विशाल अर्यालले गर्नुभएको थियो । समाजले आगामी दिनमा रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने र युवाहरुलाई यस अभियानमा जोड्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ ।