
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युवा पुस्तालाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बाहिर निकाल्न आध्यात्मिक मार्गदर्शनको खाँचो रहेकोमा जोड दिनुभएको छ । वीरेन्द्रनगरमा आज ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री कँडेलले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, र लागूपदार्थ दुरुपयोग जस्ता विकराल समस्याहरूको समाधानका लागि आध्यात्मिक मूल्य-मान्यता र अभ्यासलाई जीवनशैलीको अभिन्न अंग बनाउनुपर्ने बताउनुभयो । “आजका युवाहरू आधुनिक प्रविधि त छिटो जानिरहेका छन् तर मानसिक रुपमा खोक्रो बन्दै गएका छन्,” उहाँले भन्नुभयो, “मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरूलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गरिरहेको छ, जसले दीर्घकालीन रुपमा समाज र राष्ट्रलाई नै असर पार्न सक्छ ।”
ब्रह्माकुमारी जस्ता आध्यात्मिक संस्थाहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्म-अनुशासन र नैतिक जीवनशैलीको प्रवर्द्धन गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको प्रशंसा मुख्यमन्त्री कँडेलले प्रशंसा गर्नुभयो ।
यस अवसरमा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनर्स्थापना केन्द्रहरू तथा सरकारी कर्मचारीहरूलाई लक्षित गरी राजयोग प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सकिने ठोस सुझावसमेत दिनुभयो । यस्ता कार्यक्रमले व्यक्तिमा आत्मिक शान्ति र अनुशासन ल्याई समग्र प्रदेशको विकासमा सकारात्मक ऊर्जा थप्ने उहाँको विश्वास छ ।
भेटघाटका क्रममा ब्रह्माकुमारी संस्थाका प्रतिनिधिहरूले भौतिक विकाससँगै मानसिक र आध्यात्मिक शुद्धताले मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्दै, राज्यले आध्यात्मिक केन्द्र र सकारात्मक सोचको प्रवर्द्धनमा सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।



Prawash Kumar Shakya । १० श्रावण २०८२, शनिबार २१:०२ बजे