
नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज आफ्नै पूरानो रेकर्डलाई तोड्दै १८४औं पटकको रक्तदान गर्नुभएको छ । .-
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज समूहले संयुक्तरुपमा आज रसुवाको कालिकास्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले आफ्नो १८४औं पटकको रक्तदान गर्नुभएको हो । कर्माचार्यले नेपालका जुम्ला, बाजुरा, डडेल्धुरा, बाँके, सुर्खेत, गोरखा, नुवाकोट, स्याङ्गजा, कञ्चनपूर लगाएतका विभिन्न जिल्लाहरुमा पुगी यूवाहरुलाई रक्तदान उत्प्रेरण गर्नकालागि रक्तदान गर्दै आउनुभएको छ ।
१८४औं पटक रक्तदान गर्दै कर्माचार्यले मानिसलाई चाहिने अतिआवश्यक रगतको कुनै विकल्प नभएकोले १८ बर्षको आफ्नो जन्मोत्सव सँगसँगै महानकार्य रक्तदानमा लाग्न अनुरोध गर्नुभयो । साथै आफुले संस्थागत रुपमै दानमा दिइएको रगत विरामी पक्षले निःशुल्क पाउनुपर्ने मागलाई संघीय सरकारले कुनै सुनुवाई नगरेको बताउनुभयो ।
कार्यक्रममा सर्वाधिक शतक रक्तदाता कर्माचार्यलाई सम्मान पनि गरेको छ । सम्मान ग्रहण गर्दै कर्माचार्यले यो सम्मानले अझै बढी रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको बताउनुभयो ।
कार्यक्रममा ८६ पिन्ट रगत संकलन गरिएको समाज रसुवाका कोषाध्यक्ष सुमित्रा सापकोटाले जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । २५ आश्विन २०८२, शनिबार १४:३७ बजे