
प्युठान। शिक्षामा पहुँच र विद्यार्थीहरूमा उत्साह जगाउने पवित्र उद्देश्यका साथ रोट्र्याक्ट क्लब अफ बानेश्वरले आफ्नो बहुचर्चित कार्यक्रम ‘प्रोजेक्ट शिक्षा साथी’ अन्तर्गत प्युठान जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
क्लबले नेपाल स्वयंसेवी रक्तदाता समाज, प्युठान शाखाको समन्वयमा प्युठान नगरपालिका–८, भेडावारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीहरूलाई विद्यालय झोला (ब्याग) हस्तान्तरण गरेको हो।
शैक्षिक उन्नयनको अभियानबारे प्रकाश पार्दै रोट्र्याक्ट क्लब अफ बानेश्वरकी अध्यक्ष, रश्मी तिमल्सिनाले भन्नुभयो, “हामीले सञ्चालन गरिरहेको ‘प्रोजेक्ट शिक्षा साथी’ कार्यक्रम शिक्षाको ज्योति फैलाउने एक निरन्तर प्रयास हो । आज हामीले भेडावारीका यी नानीबाबुहरूलाई झोला वितरण गरेर उहाँहरूको विद्यालय आउने प्रेरणालाई थोरै भए पनि बल प्रदान गरेका छौं।”
यस परोपकारी कार्यमा सहकार्य गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य, मनु लामाले संस्थाको सामाजिक दायित्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी रक्तदानजस्तो जीवन बचाउने कार्यमा मात्र सीमित छैनौं, विभिन्न संघसंस्थासँगको सहकार्यमा हामी शिक्षा र समाज कल्याणका अन्य महत्वपूर्ण कार्यहरूमा पनि सक्रिय छौं । आज विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने यो उदाहरणीय कार्यक्रममा सहकार्य गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ।”




Prawash Kumar Shakya । २८ कार्तिक २०८२, शुक्रबार २१:५१ बजे