
नेपालगन्ज (बाँके) । बाँकेका पत्रकार तथा शतक रक्तदाता १०६ पटक रक्तदान गर्नुभएका पत्रकार पवन जायसवाल सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले पौष ६ गते आइतवार पवन जायसवाललाई सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका वरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले बाँकेका शतक रक्तदाता जायसवाललाई दोसल्ला, अबीर र माला लगाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.१९ निवासी जायसवालले २०४६ साल असोज ४ गते नेपालगन्ज जेसीजद्वारा आयोजित कार्यक्रममा पहिलो पटक रक्तदानको यात्रा शुरु गर्नुभएको थियो । जायसवालले बि.सं. २०८२ मंसीर १२ सम्म यात्रा १०६ औं पटक सम्म रक्तदानको यात्रा पूरा गर्नुभएको हो । रक्तदान जस्तो पवित्र कार्य गर्दै मानव सेवा र कल्याणका लागि खेल्दै आउनुभएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको नेपाल पत्रकार महासंघ बाँके शाखाले जनाएको छ ।
उहाँका मामा आमेन्द्र जायसवालबाट प्राप्त हौसलालाई प्रेरणाको स्रोत मान्दै सुरु भएको यो पवित्र यात्रा आज बाँके र बर्दिया जिल्लाकै गौरव बनेको छ । उहाँ मधेशी समुदायको पहिचान सहित मानव सेवामा निरन्तरता दिइ रहनुभएको जायसवाल हाल नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँकेको सल्लाहकार पनि हुनुहुन्छ । साथै उहाँ जनमत अर्धसाप्ताहिक र नयाँ नेपाल अवधी पृष्ठ लगायतका बिभिन्न सञ्चार माध्यमहरूसँग आवद्ध रहँदै कलम र कर्म दुवैमार्फत समाज सेवामा सक्रिय हुनुहुन्छ ।



Prawash Kumar Shakya । ७ पुष २०८२, सोमबार १७:३६ बजे