
७ पौष, पाल्पा। स्वर्गीय डण्डपाणि पाण्डेको ११औँ वार्षिक पुण्यतिथिको अवसरमा पाल्पा जिल्लाको रिद्धिकोट गाउँपालिका–१ कराम्दीस्थित श्री भगवती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि रिद्धिकोट गाउँपालिकाका वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले स्व. पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शिक्षामा केन्द्रित यस्ता सामाजिक कार्यले ग्रामीण भेगका विद्यार्थीमा आत्मविश्वास र उत्साह बढाउने बताउनुभयो । उहाँले सकारात्मक सोच, सेवाभाव र सामाजिक उत्तरदायित्व विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक पदमप्रसाद पराजुलीले विद्यार्थीलाई प्रदान गरिएको ट्र्याकसुटले नियमित विद्यालय उपस्थितिमा वृद्धि हुनुका साथै विद्यार्थीको आत्मसम्मान र उत्साह अभिवृद्धि हुने बताउँदै पाण्डे परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी दंगालले विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी गरिएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । त्यस्तै शिक्षक–अभिभावक संघकी अध्यक्ष शर्मिला नेपालीले अभिभावकको तर्फबाट धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमलाल पाण्डेले स्व. डण्डपाणिको स्मृतिमा गरिएको सामाजिक योगदान अनुकरणीय रहेको बताउँदै शिक्षा क्षेत्रमा गरिएको लगानी नै दीर्घकालीन समाजसेवा भएको धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा समाजसेवी दिपक रेग्मी, भोलानाथ पाण्डे, नविन पाण्डे, हिमलाल पाण्डे, काशीराम पाण्डे, कृष्णप्रसाद पाण्डे, नेत्रलाल पाण्डे, हजुरआमा पार्वता पाण्डे, मिनप्रसाद पाण्डे, भाइ माधव गैरे तथा नियमित रक्तदाता सूर्य धर्तीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका संयोजक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष भेषराज पाण्डे “ध्रुव” ले बुवाको स्मृतिमा शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम श्रीमती मनकुमारी पाण्डेको नेतृत्वमा भेषराज पाण्डे (धुर्ब), हरि प्रसाद पाण्डे (शिव), देवराज पाण्डे तथा सम्पूर्ण पाण्डे परिवारको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।




Prawash Kumar Shakya । ७ पुष २०८२, सोमबार १७:५० बजे