
नेपालगन्ज (बाँके) क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिकाहरुका वीच विभिन्न किसिमका रोचक खेल कार्यक्रमको गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं. १२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिका वीच खेल आयोजना गरेको हो ।
७६ औं प्रजातन्त्र दिवसको खेलहरुमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बोकेर बेलुन फुटाउने खेल, अभिभावकले रिङ सार्ने र बालबालिकाहरुले रिङमा दौड्ने खेल, तीन खुट्टे दौड्ने खेल, अभिभावकको कुर्सी दौड खेल, आफ्ना बालबालिका पहिचान गर्ने खेल, मार्च पास, अभिभावक र क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी परिवार वीच फुटबल खेल पनि गरिएको थियो ।
कार्यक्रमका वीच–वीचमा मनोरञ्जनका लागि बिभिन्न किसिमका नृत्यहरु र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । विद्यालयका संस्थापक रेणु शेरचनले खेल कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने क्रियटिभ चिल्ड्रेन होमका प्रिन्सिपल तथा संस्थापक खिमा थापाले अभिभावकहरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा आफ्नो प्रस्तुती गर्नुभएको थियो ।
संस्थापक प्रिन्सिपल खिमा थापाका अनुसार यसको उद्देश्य अभिभावक र बालबालिकाहरुका वीच बिभिन्न किसिमका खेल खेलाउनु, अभिभावकहरुले आफ्ना ब्यस्तताका कारणले समय दिन नसक्ने भएकाले यी खेलहरुबाट पनि लाभ लिन सकिने, बालबालिकाहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नुका साथै बालबालिकाको सर्वाङ्गीण विकास गराउन पनि सहयोसिद्ध हुनेछ ।
उल्लेखनीय छ, बि.सं.२०७२ सालमा स्थापित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले यसअघि “सिकाईको लागि स्वास्थ शरीर, स्वस्थ शरीरको लागि खेल” भन्ने मूल नाराका साथ अभिभावक र बालबालिकाहरु वीच खेलकुद, आफ्ना बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विभिन्न रोचक र रचनात्मक कार्यक्रम गर्दै आए तापनि अभिभावक र बालबालिकालाई संगै सहभागी गराएर एउटै खेलमा खेलाएको, शैक्षिक सामाग्री तथा प्रयोग विधि प्रदर्शनी, बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाई, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने लगायतका रचनात्मक कार्यक्रमहरु तथा पठन पाठनका साथै विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद लगायतका थुप्रै गतिविधिहरु सञ्चालन गर्दै शैक्षिक सामाग्रीहरु स्कुलको नियमित पठन पाठन मन्टेश्वरीको विधि अनुसार दिगो सिकाईको लागि सिकाई गराउँदै आएको विद्यालयका प्रिन्सिपल थापाले बताउनुभयो ।

मन्टेश्वरी एशोसिएसन बाँकेका सचिव समेत रहनु भएका क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीका संस्थापक प्रिन्सीपल थापाले मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिका वीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा बताउनुभयो ।
सिकाईको अर्को पाटो स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गरेर हस्त निर्मित सुन्दर तथा आकर्षक शैक्षिक सामाग्री तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनी मार्फत् अभिभावक र बालवालिकाहरुलाई पनि सचेत गराउने उद्देश्यले प्रदर्शनीको पनि बेलाबेलामा आयोजना गर्दै आएको संस्थापक खिमा थापाले बताउनुभयो ।
गत महिना मात्र बाल मनोविज्ञान विकास क्रमको परिचय, महत्व, अभिभावकको किसिम, अभिभावकहरुबाट आफ्ना बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तनको बारेमा अनुभव आदान प्रदान गर्ने, विद्यालयको व्यवस्थापकिय तथा शैक्षिक गतिविधिबारे समीक्षा गर्ने, विद्यालयको आगामी शैक्षिक सत्रमा गरिने कार्यक्रमहरु बारे एक दिवसीय कार्यशालाको आयोजना गरिएको थियो ।



Prawash Kumar Shakya । १० फाल्गुन २०८२, आईतवार १७:०२ बजे