१७ साउन, सुर्खेत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका उपाध्यक्ष तथा ‘नेपाल कर्म अनलाइन’का सम्पादक सुशीलकुमार खड्कालाई लक्षित गरी सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममार्फत भ्रामक र चरित्रहत्या गर्ने खालका सामग्री सम्प्रेषण भएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव गोविन्द खत्रीद्वारा जारी विज्ञप्तिमा पत्रकार खड्काको व्यावसायिक प्रतिष्ठामाथि आँच पुर्याउने र एकपक्षीय रूपमा उत्तेजना फैलाउने प्रयास भएको भन्दै त्यसको घोर भर्त्सना गरिएको छ ।
विज्ञप्तीमा आफूलाई ‘पाथिभरा माता’ भनेर चिनाउने वीरेन्द्रनगर–३ निवासी समिर थापालाई गत साउन १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको थियो । थापाले एक महिलालाई कथित बोक्सीको आरोप लगाउँदै सार्वजनिक रूपमा कुटपिट गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
उक्त घटनाबारे समाचार सम्प्रेषण भएपछि केही अनलाइन सञ्चारमाध्यम, युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत पत्रकार खड्काको कुनै भनाइ वा धारणा नै नलिई एकपक्षीय ढङ्गबाट तथ्यहीन सामग्री फैलाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेकै समयमा मूल विषय तोडमोड गर्ने, आरोपितका परिवारलाई उत्तेजित बनाउने र पत्रकारलाई नै दोषी देखाउन खोज्नु न्यूनतम पत्रकारिताको मान्यताविपरीत भएको महासंघको ठहर छ ।
“अनुसन्धानकै क्रममा रहेका विषयमा प्रहरी कार्यालय परिसरबाटै यस्ता एकपक्षीय र उत्तेजनापूर्ण अभिव्यक्ति दिने व्यक्तिहरूलाई सहज रूपमा अन्तर्वार्ता दिने र सार्वजनिक हुने वातावरण बन्नु आश्चार्यजनक छ ।”
पत्रकारिताको आधारभूत मूल्य–मान्यता सत्यता, निष्पक्षता, सन्तुलन र तथ्यपरकता हुनुपर्नेमा जोड दिँदै महासंघले भ्युज र लोकप्रियता बढाउने नियतले गरिने यस्ता कार्यले समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठाउने चेतावनी दिएको छ ।
पत्रकार महासंघ सुर्खेत शाखाले पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दुष्प्रचार, साइबर दुर्व्यवहार र भौतिक सुरक्षामा जोखिम सिर्जना गर्ने गतिविधिको विरोध गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको छ ।




Prawash Kumar Shakya । १७ श्रावण २०८३, आईतवार १२:२१ बजे