इन्धन अभावले नारायणगढ–मुग्लिन सडकको कामै रोकियो


फाल्गुन ३, २०७२- महाभूकम्प, मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले प्रभावित बनेको नारायणगढ–मुग्लिन सडक निर्माण कार्य इन्धन अभावले प्रभावित भएको छ ।
नाकाबन्दीको क्रममा नेपाल आयल निगमबाट तेल ल्याएर ठेकेदारले काम गरिरहेका थिए । नाकाबन्दी खुलेसँगै आयल निगमले पनि तेल दिन छाड्यो । यता पेट्रोल पम्पमा पनि तेल नपाएको परियोजना प्रमुख चन्द्रनारायण यादवले गुनासो गरेका छन् ।
तेल अभावमा डोजर लगायतका मेसिनरी उपकरणहरु थन्केर बसेका छन । दिनमा निर्माण कार्यको लागि ४ हजार ५ सय लिटरदेखि ५ हजार लिटर सम्म इन्धन खपत हुने गरेको उनले सुनाए ।
समयमा तेल पाउन नसक्दा ३ वर्ष भन्दा बढी पहाड कटिङ गर्न नै समय लाग्ने उनले बताए । असार महिनासम्म मात्र काम गर्ने अवस्था छ । ‘पानी पर्न थालेपछि पहाड काट्ने काम गर्न सकिदैन,’ उनले भने, ‘पहाड काट्न अहिलेको समय नै उपयुक्त हो ।’
यस वर्ष यो सडकमा अत्याधिक पहिरो जाने जोखिम बढेको उनले बताए । २ अर्ब ९० करोडको लागतमा एसिएन स्टेण्डर्डको सडक निर्माण गर्न लागिएको सडक प्ररियोजनाका इन्जिनियर शिव खनालले बताए ।
आपटारी देखी मुग्लिन सम्मको ३३ किलोमिटर सडक फराकिलो तथा २ लेनको बनाउन लागिएको उनले बताए ।
निर्माण कार्य गति लिन नसक्दा निर्धारित समयमा योजना सम्पन्न नहुने देखिएको छ ।



http: