उफ् ! याे मुग्लिनकाे जाम


विमल खतिवडा, मुग्लिन (चितवन)

03092016010234IMG_5727-1000x0भाद्र १८, २०७३- नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार बिहानैदेखि साँझसम्म सवारी साधनको लाइन लागेको थियो । हजारौं सवारी साधन बिच सडकमा रोकिएका थिए । कतै पहिरो खसेर त कतै निर्माणको काम भइरहेकाले गाडी गन्तव्यमा जान सकेका थिएनन् ।

अघिल्लो दिन दिउँसो काठमाडौंकालागि सुदुरपश्चिम र पूर्वबाट छुटेका यात्रुबहाक बस  दिउँसो १ बज्दा समेत सडकमै रोकिएका थिए । बिच सडकमै गाडी रोकिदाँ यात्रु त्रसित देखिन्थे । सबैको अनुहार निन्याउरो देखिन्थ्यो । बालबालिका ‘भोक लाग्यो’ भन्दै रुदै–कराउँदै गरेको दृश्य कारुणिक लाग्थ्यो । खाद्यान्न, ग्यास, खसीबोका बोकेर काठमाडौं हिंडेका ट्रक सडकमै थिए ।

सडकमा रहेका अधिकांश पक्की पुलमा नै गाडी लाइन लगाएर राखिएको थियो । रामनगरदेखि सुरु भएको जाम मुग्लिन पुग्दासम्म कायम थियो । समयमै काठमाडौं पुग्न हिंडेका यात्रु गाडी रोकिँदा विलौना गरी रहेका थिए । ठाउँ ठाउँमा पहिरो खसिरहेको ढुंगासहितको पहिरोले यात्रु डरैडरैमा बसमा बस्न बाध्य थिए ।

‘झापाबाट ३ बजे दिउँसो काठमाडौं हिँडेको हो, नारायणगढ आइपुग्दा बिहान १ बजेको थियो,’ बिहान साढे ११ बजे सडकमा विलौना गर्दै गरेको अवस्थामा भेटिएका एक यात्रु केशव मुखियाले भने, ‘काठमाडौंमा भाइ बितेको खबर आयो । चाँडै पुगिएला भनेको सडकमा रोकिएर बेहाल भयो ।’

बिरामी बोकेका एम्बुलेन्स समेत सडकमै रोकिएका थिए । कतै धुलो त कतै हिलोले गर्दा मोटरसाईकलमा चलाउनेले सास्ती व्यहोर्नु परेको थियो । थोरै जाम खुल्दा ओभरटेक गर्न सवारी साधनबिच प्रतिस्पर्धा देखिन्थ्यो ।

नारयणगढदेखि मुग्लिन सम्म ३६ किमी दुरी छ । दैनिक करिब ८ हजार बढी सवारी साधन गुड्छन । १ घण्टा १० मिनेट समय लाग्ने सडक छिचोल्न पहिरो खसेको दिन एकदिन लाग्छ बढी लाग्छ । सन २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तर उन्नतीको काम सुरु भएसँगै अहिले सडक साँघुरो भएको र पहिरो खस्ने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।

 

साभारः कान्तिपूर अनलाइन