परराष्ट्रमन्त्रीसहित सवार जहाजको अवतरणका क्रममा पाङ्ग्रा ‘ब्रस्ट’


NAC-Airbus-320भाद्र २८, २०७३- परराष्ट्र मन्त्री प्रकाश शरण महतसहित एक सय ५० यात्रु लिएर दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा पाङग्रा ब्रस्ट भएको छ । अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट (फुटेको) भएको छ ।

परराष्ट्रमन्त्री महत तीन दिने दिल्ली भ्रमण सकेर फर्केका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका लागि दिल्ली भ्रमणमा गएका थिए ।

जहाज धावनमार्गलाई असर पर्ने गरी त्यही रोकिएको छ । धावनमार्गमा जहाज गुड्न नमिल्ने गरी निगमको एयरबस रोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले १२ बजेर ५० मिनेट आसपासदेखि विमानस्थल बन्द गरिदिएको छ ।

‘जहाजलाई तानेर पार्किङ–वेमा ल्याउने प्रयास गर्दै छौं,’ विमानस्थल स्रोतले भन्यो । यात्रुलाई ट्याक्सी-वेबाटै र्‍यामबसले निकालेर टर्मिनलतर्फ ल्याइसकेको छ । लुम्बिनी नाम भएको यो जहाजको यात्रु क्षमता १ सय ५८ हो ।

स्रोतले जहाजका सबै सिटमा यात्रु रहेको बताएको छ । दिल्लीबाट क्याप्टेन विजय लामाले उडाएर ल्याएको यो विमान निगमले ०७२ बैसाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबस हो ।

एक घण्टापछि धावनमार्ग खुल्यो

नेपाल वायु सेवा निगमकाे जहाज अवतरणको क्रममा पाङ्ग्रा फुटेपछि बन्द गरिएको त्रिभूवन विमानस्थलको धावनमार्ग एक घण्टापछि खुलेको छ । विमानस्थलका प्रबक्त प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १२.४५ मा बन्द गरिएको धावनमार्ग १.४८ मा खुलाइएको हो ।

साभारः कान्तिपूर अनलाइन