नेपाली चलचित्रका चर्चित नृत्य निर्देशक बसन्त जंग रायमाझीको पार्थिव शरीरमा नेपाल सरकारले राष्ट्रिय झण्डा ओडाएको छ । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शेरधन राइले उनको शवमा राष्ट्रिय झण्डा ओडाएका हुन् ।
वुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । यसपछि उनको शरीरलाई काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रज्ञा पुगेर संचारमन्त्री राइले नृत्य निर्देशक रायमाझीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए ।
रायमाझीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्रका पुरानादेखि नयाँ चलचित्रकर्मी प्रज्ञा पुगेका थिए । प्रथम नायिका भूवन चन्द, कलाकार बसुन्धरा भुषाल, लक्ष्मी गिरी, कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, रुपा राना, खुश्वु खड्का नायक आर्यन सिग्देल, रमेश उप्रेती, कलाकार दीपाश्री निरौलाले उनलाई अन्तिम श्रद्धाञ्जली दिए । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईदेखि विभिन्न संघसंस्थाका अध्यक्षहरु पनि प्रज्ञा पुगेका थिए । रायमाझीको निधनको खबर लगतै बिहानै कलाकार रविन्द्र खड्का, नृत्य निर्देशक कमल राई, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी नर्भिक पुगेका थिए ।उनको आजै काठमाण्डौको पशुपति आर्यघाटमा दाहासंकार पनि गरिएको छ ।
साभारः अनलाइन खबर




Milan Shrestha । २० माघ २०७२, बुधबार १७:०४ बजे