समीक्षा: नचाखी नहुने ‘पशुपति प्रसाद’


१५ माघ, काठमाडौं
सर्वाधिक चोरीको आरोप लाग्ने गर्छ, नेपाली चलचित्र क्षेत्रलाई । प्रायः नेपाली चलचित्रमा समावेश हुने दृश्य, गीत, कथा, पोस्टर लगायत सामग्री कुनै हलिउड, बलिउड वा अन्य कुनै विदेशी चलचित्रको नक्कल भएको चर्चा हुँदै आएका छन् । यसैले पनि होला, पछिल्लो समय मौलिक कथावस्तु बोलिएका नेपाली चलचित्र रुचाइएको पाइएको छ ।
लुट, कबड्डी, कबड्डी कबड्डी, टलकजंग भर्सेस टुल्के, नाइ नभन्नु लका सिक्वेल, ६ एकान ६, वडा नम्बर ६ लगायत फिल्म पछिल्लो समय आफ्नै शैलीका कारण चर्चामा रहे ।
नेपाली दर्शकले अर्गानिक चलचित्र खोजिरहेका बेला शुक्रबारदेखि ‘पशुपति प्रसाद’ प्रदर्शन भएकाे छ । जसको चर्चा हामी यहाँ गर्दैछौा ।
कथावस्तु

भूकम्पका कारण बाबुआमाको निधन भएपछि काठमाडौं छिरेको पशुपतिप्रसाद (खगेन्द्र लामिछाने) को वरिपरि कथा घुम्छ । पशुपति प्रसादको परिवारलाई ५० हजार ऋण लागेको छ । उसका मीतबाबु पशुपति परिसरमा लास पोल्ने काम गर्छन् । मीतबाबुकै साथ लागेर पशुपति प्रसादले ५० हजार ऋण चुक्ता गर्ने इलम गर्छ । ऊ पशुपति परिसरमा बारम्बार त्यहाँका गुन्डा नाइकेबाट पिटिनु पनि पर्छ । भष्मे (बिपिन कार्की) नामक पात्रको निसानामा पर्दै सुन खोज्नेदेखि कपडा बेच्ने कामसम्म गर्छ ।
पशुपति प्रसाद एक युवतीको प्रेममा पनि पर्छ । उसको र बुनु (वर्षा सिवाकोटी) को प्रेम कलेजबस र पशुपतिको गेट वरिपरि घुमिरहेको हुन्छ ।
पशुपति प्रसादको प्रयास छ, सेकेन्ड ह्यान्ड ठेलागाडा किन्ने । अनि, सपना छ- बाबुआमाले मर्नुअघि लगाएको ऋण तिरेर उनीहरूका लागि स्वर्गको ढोका खोल्ने ।
तर, आफ्नै मीतबाबुको रक्सी पिउने लतका कारण उसको धोको अधुरो हुन्छ । गुन्डानाइके, मीतबा, प्रेम र सपनाको वरिपरि पशुपति प्रसादको जीवन कसरी अगाडि बढ्छ ? बाबुआमाको ऋण तिरेर स्वर्गको ढोका खोल्छ या खोल्दैन ? यही नै चलचित्रको सार हो ।