
बिस्नप्रसाद न्यौपाने
२६ मंसिर, कालिकोट । जनयुद्धका बाल कलाकार स्वर्णीम शाहीको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको छ ।
मध्य तथा सुदुरका साथै कर्णालीको कला, संस्कृति र पर्यटनको पहिचान सहितको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको हो ।
पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको पहिचानका साथै खस भाषाको उग्दगम थलो कर्णालीको पहिचान दिने उद्देश्यले गीत ल्याएको गीतकार शाहीले बताउनुभयो । शब्द, संगीत, स्वर र अभिनय समेत शाही आफैले गर्नुभएको नयाँ गीतले मध्य र सुदूरपश्चिमको कला, संस्कृति र पर्यटनको बिषयलाई समेटेको छ ।
गीतमा शाही र गायीका माण्डवी त्रिपाठीको स्वर रहेको छ । त्यसैगरी अभिनयमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिनुभएको छ । कुशल म्युजिक प्रालिले बजारमा ल्याएको गीत सोमबार सार्वजनिक गरिएको हो ।
जिल्लाको पचालझरना गाउँपालिका ९ निवासी शाही २०५७ सालमा जनयुद्धमा पूर्णकालिन भएर कलाकारिताको यात्रा थाल्नुभएको थियो । १४ वर्षको कलिलो उमेरमा जनयुद्धमा पूर्णकालिन रुपमा बाल कलाकारका रुपमा काम गर्नुभएका शाहीले एक दर्जन गीतहरु रेकर्ड गरिसक्नुभएको छ ।

झण्डै एक दर्जन गीत बजारमा आउने तयारीमा छन् । कलाकार शाहीले भन्नुभयो । जनयुद्धताका निश्चित राजनीतिक बिषयलाई समेटेर धेरै गितहरु गाईयो । अभिनय पनि त्यस्तै गितमा गरियो । निकै कष्टकर जीवन बित्ताईयो । अहिले हाम्रो संस्कृति, परम्परा र कर्णालीको लोक संस्कृति देउडा गितलाई आफ्नो करिएर बनाउने सोचमा छु । कलाकारीताबाटै आफ्नो भबिश्यको खोजी गरिरहेको छु ।
बिद्यालय जाने र पढ्ने उमेरमा तत्कालिन माओबादीको सांस्कृतिक अभियानमा हुमिएका शाही सशष्त्र द्वन्दको पीडाले निकै दुखित छन् । मुलुकमा भएको राजनीतिक परिवर्तनबाट नागरिकहरुले भरपुर लाभ लिन नसकेको उहाँको ठम्याई छ । उहाँले भन्नुभयो, मुलुक संघिय लोकतान्त्रीक व्यवस्थामा गई स्थानिय तहको सरकार गठन भएपनि गाँउका प्रतिभा गाँउमै छन् । कलाकारीता क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्न सकेको छैन् । देउडा गायनबाट कर्णालीको लोक संस्कृृतिको संरक्षणमा लाग्ने उहाँको अठोट छ ।



Milan Shrestha । २६ मंसिर २०७६, बिहीबार १९:०८ बजे