धैर्यता मानिसको प्रगतिको सबैभन्दा ठूलो कारण हो
धैर्यता मानिसको प्रगतिको सबैभन्दा ठूलो कारण हो । कुनैपनि लक्ष्य प्राप्तीका लागि धैर्यवान, लगनशिल र मेहनती हुनुपर्दछ । जसले फलको अधिक चाहाना राख्दछन् उनीहरुले अगसर लक्ष्य भेटाउन सक्दैनन् । तर जो मानिस फलको कामना नगरी निरन्तर कर्मतर्फ अगाडि बढिरहन्छ त्यसले एक न एकदिन सफलता अवश्य हासिल गर्दछ ।
फलको लालशा नपालेर निरन्तर कर्म गर्ने व्यक्ति हुन् विजय पराजुली । युवा वर्गको लागि मोफलसलका सफल व्यक्तिहरुको उदाहरण दिनुपर्दा विजय पराजुली एक बलियो उदाहरण हुन् । मानिसभित्र इच्छाशक्ति हुनुपर्दछ जनुसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने प्रेरणाका स्रोतका रुपमा उदाइरहेका छन् विजय ।
जिन्दगीमा खुसी हुनका लागि अथवा सुःख प्राप्तीका लागि पुख्र्यौली सम्पत्ति अन्यथा सरकारी जागिर मात्रै भए सम्भव छ भन्ने सोच राख्नेहरुलाई जीवन सुखमय बनाउन अन्य विकल्प पनि छन् भन्ने पेचिलो उदाहरणका रुपमा विजयलाई लिन सकिन्छ । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै सरकारी जागिर छा्ेडेर पनि प्राइभेट क्षेत्रमा उदाउँदा सिताराको रुपमा विजय अगाडि बढिरहेका छन् ।
बुबा शंकरप्रसाद पराजुली र आमा शिवदेवी पराजुलीको जेठो सन्तानको रुपमा विसं २०३५ सालमा जम्मिएका विजयको पुख्र्यौली घर सिन्धुपाल्चोक जिल्लामा हो । जागिरको लागि सुर्खेत आएका विजयका बुवाले यतै विवाह गरी हालको धुलियाविटमा घर बसाए । सुब्बाकुनामा विद्यालय नहुँदा पीपीरामा रहेको विद्यालयमा कक्षा पाँचसम्मको अध्ययन पुरा गरे । तत्पश्चात विजयले कक्षा ६ र ७ अमरज्योति मावि नेवारेमा गरे । त्यसपछिको पढाई सिन्धुपाल्चोकमा गएर अगाडि बढाए । आफ्नै जिल्लाबाट एसएलसी पास गरेपछि पुन पराजुलीको उच्चशिक्षा सुर्खेतको तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्याम्पसमा प्रारम्भ भयो । उनलाई अहिले पनि प्राविमा पढ्दाको यादहरु ताजै छन् । घरनजिक विद्यालय नहुँदा उनलाई आफ्नो बुबाको स्टाफले बोकेर विद्यालय पुर्याउने गर्थे । एसएलसी पास गरेपछि विसं २०५३ सालमा पशुपति क्याम्पस चावहिलमा भर्ना गरेका पराजुली मामाको घर आएकोबेला मामाले यतै बसेर पढ्न आग्रह गरेपछि वीरेन्द्रनगर बहुमुखि क्याम्पसमा अध्ययन सुरु गरेका थिए ।
मामाको करले सरकारी जागिरमा

सानै उमेरदेखि नै विभिन्न अतिरिक्त क्रियाकलापमा पोख्त विजयले विद्यालयस्तरीय कुनैपनि हाजिरिजवाफ प्रतियोगितमा प्रथम हुन छोडेनन् । आफ्नो यही क्षमता देखेर नै मामाले लोकसेवा आयोगमा जाँच दिनको लागि आग्रह गरेको विजय बताउँछन् । क्याम्पसमा पढ्दा पढ्दै उनले सरकारी सेवामा प्रवेश गरेका हुन् । तत्कालिन समयमा घरेलुमा जागिर खुलेको उनको मामाले जानकारी पाएलगतै आफुलाई तुरुन्त फाराम भर्न कर गरेपछि आफुलाई सरकारी जागिर खान खासै मन नभएपनि मामाको मनराख्नलाई उनले फाराम भरेको बताए ।
जागिरको लागि फाराम पनि मामाले नै भरिदिएका थिए । विसं २०५३ सालमा उनको नाम पनि निस्कियो । सूचना र सञ्चारको प्रविधिको विकास भइनसकेको अवस्थामा विजयले आफ्नो नाम निस्केको पनि परिक्षा दिएको एकवर्षपछि रिजल्ट प्रकाशित भएको र गोराखापत्रमा नाम प्रकाशित भएपछि थाहा पाए । काठमाडौं अध्ययनका लागि जाने एकदिनअघि मात्रै नाम निस्किएको थाहा पाएका विजलयले पुनः मामाको करले गर्दा अन्तवार्ता दिए । सरकारी जागिरको अवसर नगुमाउँन धेरै कर गरेपछि आफु अन्तवार्ताको लागि तयार भएको पराजुलीको भनाइ छ ।
अन्तवर्तामा नाम नस्किएपछिको सरकारी जागिरको अनुभव यसरी सुनाए विजयले, ‘अन्तवार्त दिएँ र मेरो नाम पनि निस्कयो । त्यसपछि नियुक्तिपत्र लिनलाई काठमाडौं जानुपर्ने थियो तर मैले जान नै भ्याएन । एकजना चिनेको मानिसले नियुक्ति ल्याइदिनुभो । नियुक्ति पत्रमा हेर्दा मेरो पोष्टिङ त बझाङमा भएको रहेछ । सडक सञ्जालले समेत नछोएको बझाङजस्तो ठाउँमा मलाई जान मन लागेन तरपनि सरकारी जागिर पुनः कहाँ पाइन्छ भन्ने आफन्तजनको सल्लाहका कारण म बझाङ तिरै लागेँ ।
राणाकालमा नेपालमा विद्यालय स्थापनाको लागि महत्वपूर्ण योगदान दिने राजा जयपृथ्वीबहादुर सिंहको जीवनी अध्ययन गरेका कारण मनभित्र बझाङलाई हेर्ने रहर पनि पलाएको थियो । कार्यालयमा जाँदा जिल्लामा त्यहाँ कार्यरत कर्मचारीहरुमध्ये कान्छो कर्मचारी म नै थिएँ । त्यहाँ बसाइका क्रममा मलाई सोअध्ययन गर्ने मौका मिल्यो र लोकसेवा तयारी गर्ने मौका पनि पाए ।
त्यहाँबाट सुर्खेत आउनको लागि महेन्द्रनगर हुँदै दुईदिन गाडिको यात्रा गर्नुपर्दथ्यो । दुई दिनको यात्राको क्रममा एकहजार एकसय रुपैयाँ खर्च हुन्थ्यो । तर प्लेनमा विद्यार्थी छुटमा पाँचसय ५० रुपैयाँ मात्र लाग्थ्यो । त्यहाँ बसाइका क्रममा सुरुमा गाडिको यात्रा गरेपछि पछिल्ला यात्राहरु विमान बाट गर्न लागे । दोस्रोपटक बझाङ जाँदा मैले नेपालगञ्जबाट प्लेनमा जाने निधो गरेँ । निकै छोटो समयमा आरामदायी र सस्तोमा पुग्न पाउँदा मनभित्र आनन्दा महशुस भइरहेको थियो । मेरो जिन्दगीमा पहिलो पटक विमानको यात्रा गर्ने मौका त्यही जागिर ले नै मिलाईदियो र पछिल्ला करिब सबै यात्राहरु विमानमै गर्न थाले । तत्कालिन अवस्थामा मेरो तलव दुईहजार तीनसय ५० मात्रै थियो ।
घरेलुमा प्रशासनिक फाँटमा भएपनि प्राविधिक कर्मचारीहरुको अभाव भएका कारण प्रायजसो गाउँमा दिइने सिपविकास तालिमहरु सञ्चालनको लागि मलाई कार्यालयले खटाउने गर्दथ्यो । त्यसबापत भत्ता पनि पाइन्थ्यो । प्राविधिक भत्ता एकसय रुपैयाँ पाइन्थ्यो । बझाङमा करिब साढे ३ वर्ष बसाइ भयो । साढे तीन वर्षको अवधिमा कामकाज सबै सहजपूर्ण तरिकाले समपन्न भएपनि भनेको समयमा परीक्षा दिन नपाउँदा जिन्दगीमा पहिलोपटक असफल भएको महशुस गरेँ । २०५५ सालमा मैले नायब सुब्बाको लागि तयारी गरिरहेको थिँए । सुदुरपश्चिमको दिपायलमा परीक्षा हुन्थ्यो । कार्यालयम सबै विदामा गएका थिए । सुब्बा निमित्त हुनुहुन्थ्यो उहाँले परीक्षा दिन जाने समयभन्दा एकदिन अगाडि आउँछु भनेपनि उहाँ समयमै नआएको र तत्कालिन अवस्थामा भारी वर्षात भएकोले प्लेन उडान नभएका कारण मैले परीक्षा दिन पाएन । जीवनमा पहिलो पटक दुर्गम बस्दाको पीडा महशुस भयो ।
पटक पटक मन्त्रालयमा सठक सञ्जाल जोडिएको जिल्लामा सुरुवा मागेपनि २०५८ सालमा हुम्ला जिल्लामा मेरो सुरुवा भयो । जसका कारण मलाई बझाङमा बस्दाको पीडाले झन सतायो । हुम्लामा त प्लेन बाहेक अर्को कुनै विकल्प थिएन । हुम्ला जानको लागि पुसको महिनादेखि नेपालगञ्ज गएपनि प्लेन उड्न नसेकेका कारण तीन महिनासम्म सुर्खेतमै विताए । पछि हुम्ला पुगेपछि त्यहाबाट वर्षमा दुईपटक भन्दा बढी घर आउन सम्भव थिएन । तर हुम्ला बसाइका क्रममा त्यहाँका व्यवसायीहरुले आफ्नो सामान खरिदको लागि पैसा मेरो साथमा पठाउन थाले । मैले पनि यहाँबाट डिलरवालालाई सम्पर्क गरी सामान पठाउन सहयोग गर्थे । पछि उनीहरुको सल्लाह बमोजिम नै मरो आफ्नै कार्गो खोले र मेरो व्यवसायिक जीवन प्रारम्भ भयो ।
सशस्त्र युद्ध चलिरहेको थियो । सूचना प्रविधिको पनि अहिलेजस्तो विकास भइसकेको थिएन । घरमा सम्पर्क गर्नका लागि टेलिकममा दिनभरी लाइनमा बस्नुपथ्र्यो र एकपटक फोन नउठे पुन पुछारबाट लाइन सुरु गर्नुपथ्र्यो । एकचोटी त ५१ जनाको लाइनपछि जानुपरेको याद अँझै ताजै छ ।
कार्गो खोलेपश्चात मेरो दिमागमा व्यवसायप्रतिको आकर्षण बढ्दै गयो । सुर्खेतमा त्यतिबेला ग्यास बाल्ने खासै गर्दैनथे । केही होटलवाला र हुनेखानेका घरमा ग्याँस बाल्थे । ग्यास डिलर ल्याउनको लागि नेपालगञ्ज गएपनि त्यहाँको डिलरवालाले मलाई दिन अन्कनाई गर्यो । तर पछि मोटरसाइकलको सव डिलर लिने सोच पलायो । त्यसपछि त्यहाँको स्वरुमवालासँग जानकारी लिनखोज्दा संयोगवस त्यहीनै होन्डा मोटरसाइकल कम्पनीको मानिस आएको रहेछ । मैले आफ्नो विचार स्पष्ट राखे र कम्पनीको मानिसले पनि सव डिलर दिनलाई राजी भयो ।
त्यतिबेला एउटा मोटरसाइकलबाट दुईहजार नाफा आउँथ्यो । पुनः हुम्लाबाट रोल्पा सरुवा भयो । त्यतिबेला रोल्पा माओवादीको जल्दोबल्दो ठाउँ थियो । २०६१ सालमा रोल्पाबाट सुर्खेत सुरुवा भयो । र मलाई मेरो व्यवसाय अगाडि बढाउन निकै सहयोग पुग्यो । बझाङ हुँदै २०५८ सालमा त्यहीबाट मेरो लभ म्यारिज (विवाह) समेत भयो । हाल दुईवटा छोरी छन् । त्यसपछि पुनः २०६४ सालमा कालिकोट सरुवा भयो । पटक पटक दुर्गम ठाउँमा बसेपनि मेरो उचित मुल्यांकन नभएका कारण २०६४ सालमा सरकारी सेवाबाट अवकास लिँए । तर नीजि क्षेत्रमा सक्रिय भएँ ।’
एकदम तिक्ष्ण बुद्धिका विजयले सरकारी सेवामै रहँदा विमा कम्पनीमा संलग्न भइसकेका थिए । त्यतिबेला नै उनले एजेण्टको रुपमा काम गरेर विमा कम्पनीबाट नै मनग्य आम्दानी गर्न सफल भएका थिए । सरकारी सेवाबाट अवकास भएपश्चात पूर्ण रुपले विमा कम्पनीमा कर्मचारीको रुपमा काम गर्न थालेको उनले बताए । इच्छाशक्ति र आँट हुनेहो भने, जीवन जिउनको लागि पुख्र्योली सम्पत्ति नै आवश्यक नपर्ने उनको अनुभव छ । उनलाई अँझै याद छ । जब उनले आफ्नो बाजेसँग पुख्र्यौली सम्पत्ति चाहिँदैन आफै केही गरेर देखाउँछु भन्दा उनलाई बाजेले बेसरी झपारेका थिए । जीवन एक संघर्षको रुपमा विजयले बुझेका छन् । पारिवारिक रुपमा लामो समयसम्म आफ्ना बुबाहरु सँगै बस्दाको क्षण सबैभन्दा शान्तिपूर्ण र मिलनशार लाग्छ उनलाई ।
अहिले एशियन लाइफ इन्सोरेन्सका विभागिय प्रवन्धकका रुपमा कार्यरत छन् । उनी अन्य सामाजिक संस्थामा पनि आवद्ध छन् । विगत लामो समयदेखि लायन्स क्लवमा समेत संलग्न रहीआएका छन् । यस्तै, नेपाल अर्बुद रोग निवारण संस्था, राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालका क्षेत्रीय सदस्य समेत छन् ।
लामो समय सरकारी सेवामा विताएपनि विजयले जीवन सुखमय बनाउँनका लागि विदेशमै जानुपर्ने अथवा सरकारी जागिर मात्रै विकल्पको रुपमा लिन नहुँने बताउँछन् । आफ्नो क्षमता, रुचि र चाहाना अनुसारको व्यवसायमा संलग्न हुँदा जीवनमा सफलता प्राप्त हुने उनको अनुभव रहेको छ । जीवनलाई खुसी राख्नका लागि अधिक लोभ र लालच ल्याग्नुपर्ने बताउँछन् । मानिसलाई लालचले अपराधि बनाउँने दाबी गर्दछन् विजय । सानो कुरामा आत्तिने र कुनै अवसर प्राप्त गर्नासाथ मात्तिने प्रवृतिलाई त्यागेर धैर्यताका साथ आफ्नो लगनशीलतालाई निरन्तर रुपमा जारी राख्नुपर्ने उनको भनाई छ । अनावश्यक कुरामा ध्यान दिनुको सट्टा राम्रो कुरालाई अध्ययन गरी कुनैपनि व्यवसायमा लाग्दा अवश्य सफल हुने बताए । सँधै शान्तिपूर्ण र धैर्यताका साथ सकारात्मक रुपमा कुनैपनि काम सुरु गरेमा असफल नहुने उनको दाबी छ । जीवनमा जसले अरुलाई खुशी बनाउँछ त्यो नै सदा खुशी र सन्तुष्ट हुने भएका कारण आपत्त्मा परेका सबैलाई सहयोग गर्नुपर्ने उनको भनाई छ ।
प्रस्तुती: मिलन श्रेष्ठ



Milan Shrestha । १६ कार्तिक २०७३, मंगलवार ०५:०८ बजे