लिलाराम ढुङ्गाना


लिलाराम ढुङ्गाना

राष्ट्रिय वाणिज्य बैँक सुर्खेत शाखामा प्रबन्धक हुनुहुन्छ । बिस २०४० पुस २८ गते बुबा टिकाराम ढुङ्गाना र आमा चन्द्रा ढुङ्गानाको सन्तानका रुपमा वीरेन्द्रनगर नगरपालिका वडा नं ५ कालिकामन्दिर टोलमा जन्मिएका भएको हो ।

वीरेन्द्रनगरको कालिङचोकमा स्थाीय बसोबास गर्नुभएका ढुङ्गाना २०६९ सालमा सहायक प्रबन्धकका रुपमा राष्ट्रिय वाणिज्य बैँकमा प्रवेश गर्नुभएको थियो । उहाँले करिब तीन बर्ष तत्कालिन बहुमुखी क्याप्सन सुर्खेतमा समेत शिक्षण पेशामा हुनुहुन्थ्यो ।

                                                     बाल्यकाल सामान्यतया सबैलाई रमाइलो लाग्छ । साथीभाइहरुसंग खेल्ने, रमाउने र अहिलेको जस्तो जिम्मेवारी त्यति नहुने भएकाले पनि बाल्यकाल रमाइलो हुन्छ । बाल्यकाल पढाईसंगै साथीहरुसंग खेलेर रमाइलो गरेर बित्यो । मैले प्राथमिक तह पदमलिला प्राविमा पढेँ । निमावि तह श्रीकृष्ण संस्कृत तथा साधारण माबिमा र एसएलसी जनमाविमा पढेँ ।

                                               म बाल्यकालमा शान्त र गम्भिर स्वभावको थिए । साथीभाइहरुसंग मिल्ने गर्थे । खेल्न भने फुटबुलमा रुचि थियो । फुटबल म राम्रो खेल्थे । अहिले धेरै खेलहरु छन । पुरानो मोजामा कपडा हालेर बल बनाएर खेल्ने गरिन्थ्यो । विद्यालय जीवन रमाइलो नै हुन्थ्यो । विद्यालयमा अलिअलि मात्रमा अतिरिक्त क्रियाकलाप हुन्थे । स्काउटमा आवद्ध भएर हामी विभिन्न समाजिक क्रियाकलापमा कहिलेकाँही आवद्ध हुन्थ्यौं । अहिलेको समयमा बालबालिका विभिन्न क्लब र विद्यालय मार्फत पनि समाजिक कार्यमा धेरै सहभागि हुन्छ । हामीले यस्तो अवसर हाम्रो बाल्यकालमा पाएनौँ । मेरो आटएमा अलि रुचि थियो । स्काउटको कार्यक्रम मार्फत सहभागि हुन्थे ।


घरमा गाइबस्तु भएकाले पनि हामी घाँसदाउरा, गोठाला जानुपर्ने हुन्थ्यो । अहिलेको तुलनामा बाल्यकाल रमाइलोको साथसाथै अभावमा पनि बित्यो । बुबाको समान्य जागिर थियो । खेतबारी लगाउने र बुबाको जागिर आम्दानीको स्रोत हो । खेतबारीमा पनि काम गर्ने गरिन्थ्यो । बाल्यकालमा कहिलेकाँही बदमासी पनि गरियो । तर ठूलै बदमासी भने गरिएन । गाउँघरमा काँक्रा चोरेर खाने काम भने हुन्थ्यो ।

                                                       साथीहरुसंगको संगतले आफ्ना बारीका काँक्रा पनि चोर्ने र साथीहरुका बारीका काँक्रा पनि चोरेर खाने काम हुन्थ्यो । त्यस बेलामा बारीमा काँक्रा धेरै फल्थे । हामीले करेसाबारीमा पनि काँक्रा लगाइहाल्थ्याँ । अहिले त्यसरी काँक्रा फलेको देख्न पाइदैन । जहाँ लगाएपनि काँक्रा फल्थे रातिको समयमा काँक्रा चोरेर खान बेग्लै मजा आउँथ्यौँ ।


सानो उमेरमा बढी खेलेर नै समय जान्थ्यो । उमेर बढ्दै गएपछि म पढाईमा गम्भिर नै थिए । सानोमा छुट्टै सपना नभइएपनि पढेर जागिर खानुपर्छ भन्ने मेरो सोचाई थियो । पहिले सबैमा जागिर नै खानुपर्छ भन्ने मानसिकता थियो । पढाईमा म राम्रै विद्यार्थी थिए । मैले पढाईलाई सुधार गर्दै लिए र अहिले म बैकिङ करिअरमा सफल छु भन्ने लाग्छ । मेरो २०५६ सालको एसएलसी हो ।

                                     बुबाआमाले पढाईमा जोड दिनुहुन्थ्यो । त्यस बेलामा त्यति शिक्षित समाज थिएन । त्यस समयमा ठूलोले सानोलाई पढ् मात्र भन्ने हो । सानो छँदा बुबाले कालो बोर्डमा खरीले लेखेर अक्षर चिनाउनु भएको सम्झना छ । हामीलाई पनि खरीले बोर्डमा लेख्न सिकाउनुहुन्थ्यो । घरघरमा विद्युचको पहुँच थिएन । मट्टीतेलबाट बत्ति बाल्ने गर्थियौँ कक्षा पाँचछ पढ्ने भएपछि मात्र हामीले घरमा बत्ति बाल्न पाएका थियौँ । बिहान साँझ प्राय बाख्रा चराउन जानुपर्ने हुन्थ्यो । किताबकपि बोकेर हामी गोठाला जान्थ्याँ । बाख्रा चर्थे हामी शिक्षकले दिएको होमवर्क गर्थ्यौ । साँझ होमवर्क सकेर बाख्रा ल्याएर घर फर्किथ्यौँ ।

                                  बाल्यकालमा चाडपर्व अझ रमाइलो लाग्थ्यो । त्यस बेलामा नयाँ कपडा लगाउन पाइने भएकाले पनि चाडपर्व बिशेष रमाइलो लाग्ने गर्थियो । नयाँ कपडा किन्ने भनेकै चाडपर्वमा मात्र हुन्थ्यो । अहिले हामी आफ्ना बालबच्चालाई कपडाहरु किनिरहन्छौँ । विद्यालयमै कति जोड पोशाक हुन्छ । बुबाआमाले हामीलाई विद्यालयको पोशाक समेत चाडपर्वमा किनिदिनुहुन्थ्यो । हामीलाई त कहिलले चाडपर्वमा विद्यालयका पोशाक कहिले दशैँ आउँला अनि नयाँ कपडा लगाउन पाइन्छ अनि मामाको घरमा गएर कति पैसा पाइछ भन्ने हुन्थ्यो ।

                                त्यस समयमा वीरेन्द्रनगरमा ठूलो बस्ती पनि थिएन । बिस्तारै बस्ती बाक्लो हुँदै थियो । हामी देउसी भैली खेल्न इत्रामको गाउँसम्म जान्थ्यौँ । देउसी भैली खेलेको पैसाले साथीसाथीबिच बाड्ने र बनभोज खान जान्थ्यौँ । त्यस बेलामा बनभोज खान जान बेग्लै रमाइलो हुन्थ्यो । घरबाट दालचामल, नुन तेल, भाडाहरु आफै लिएर जान्थ्यौँ । जंगलमा गएर आफै पकाउने खाने, नाँच्ने रमाउने गर्थियौँ । साँझ पनि घर फर्किदा नाँच्दै आउँथ्यौँ । अहिले पैसा उठाएपछि सबै चिज रेडिमेट पनि पाइन्छ । त्यस बेलामा छुट्टै रौनक हुन्थ्यो ।

गाउँमा एकदुई वटा सार्वजनिक धारा हुन्थे । पानी लिन प्राय हामी केटाकेटी नै जाने हुन्थ्यो । दुई घण्टासम्म लामो लाइनमा बसेर पानी भर्नुपर्ने हुन्थ्ययो । पानीकै लागि कहिलेकाँही साथीहरुसंग झगडा हुन्थ्यो । अहिले ति दिनहरु सम्झदा रमाइलो लाग्छ ।
बाल्यकालमा हामीलाई नैतिक शिक्षामा जोड दिइन्थ्यो । घरमा बुबाआमाले गतल बाटो लाग्नुहुँदै भनेर भनिरहनुहुन्थ्यो नै कक्षा १० सम्म नैतिक शिक्षा भन्ने पाठ नै पढाई हुन्थ्यो । त्यसले गर्दा हामी बाल्यमाल गलत बाटोमा ध्यान गएन भन्ने लाग्छ । अहिलेको बालबालिका हेर्ने हो भने त्यस बेलाको हाम्रो बालयकाल अभाव नै हो । पैसाको महत्व हुन्त्यो । हामीले पैसा नै पाउँथेनौँ । अहिलेका बालबालिका कुलतमा फस्नु र गलत बाटोमा हिड्नु एउटा नैतिक शिक्षाको कमि हो जस्तो लाग्छ । अहिले प्रविधिको बिकासले बढी देखासिखि गर्ने चलन छ । यसले पनि बालबालिकामा ठूलो असर पु¥याएको छ । अभिभावकहरु व्यस्त हुनुहुन्छ । छोराछोरीलाई धेरै समय दिन व्यस्त लाइफले चोहेर पनि दिन नसकिएको हुन्छ । छोराछोरीलाई कति समय दिने भनेर अभिभावक सचेत हुन आवश्यक छ र विद्यालय स्तरमा नैतिक शिक्षाको पाठ्क्रम लागु गर्नुपर्छ ।

                                मैले एसएलसी पास गरेपछि स्नात्तक तहसम्म सुर्खेतमै पढेँ । त्यसपछि स्नातकोत्तर पढ्न काठमाण्डौँ नै गए । पढाईसंगै जागिरको तयारी पनि गरे । स्नातक पढ्दै गर्दा जागिर पनि गर्नुपर्छ भन्ने सोच पनि बढ्दै गयो । काठमाण्डौँमै प्राइभेट बैँकमा नाम निस्कियो । बैँकले लमजुङ पठायो । मलाई त्यहाँ जान मन लागेन । पछि २०६६ सालमा सुर्खेत फर्किर तत्कालिन बहुमुखी क्याम्पसमा पढाउन सुरु गरे । संगै बैँकको तयारी पनि गरेको थिए । शिक्षण पेशामा रहँदा २०६९ सालमा मैले राष्ट्रिय वाणिज्य बैँकमा सहायक प्रबन्धकमा नाम निकालेर दैलेख गए । बिचमा सुर्खेत र नेपालगञ्ज शाखामा गएर काम गरे । गत असोजमा सुर्खेत फेरी शाखा प्रबन्धकका रुपमा आएको हुँ ।