एयरलिफ्ट समिक्षाः सद्दाम, मानवियता, भावना र देशप्रेम


९ माघ, बक्स अफिसमा शुक्रबारदेखि उत्साहजनक व्यापार गर्ने अपेक्षासहित नायक अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र एयरलिफ्ट प्रदर्शनमा आएको छ । मसला, कमेडी र सामान्य बिषयमा बन्ने चलचित्र खेल्ने अक्षयका लागि स्पेशल २६, बेबी जस्ता चलचित्र विशेष बनेका छन् । अक्षयले अहिले आफ्नो करिअरमा देशप्रेमलाई पनि समावेश गर्न थालेका छन्, जसले उनको करिअरको उचाइलाई अझ बढाउन मद्दत गरेको छ ।
यही क्रममा चलचित्र एयरलिफ्ट विश्व बजारमा एकसाथ रिलिज भएको छ । आखिर, के हो त यो चलचित्र, आउनुहाहेस्, जान्ने कोशिश गरौ ।

कथावस्तु

सन् १९९० मा कुवेतमाथि इरानले गरेको आक्रमण र त्यसपछि त्यहाँ बस्दै आएका भारतीय नागरिकले भोग्नु परेको समस्या नै यो चलचित्रको मुख्य कथावस्तु हो । कुवेतमा उच्च पावरका साथ व्यापार गर्दै आएको रंजित कत्याल(अक्षय कुमार), जसलाई दुनियाँको खासै मतलब छैन । कुवेतका सरकारी निकायदेखि भारतीय राजदुतावासमा उसको सम्पर्क उच्च हुन्छ । आफ्नो परिवारसँग रमाइलोसँग जीवन विताइरहेको रंजितको जीवन त्यतिबेला अस्तव्यस्त बन्छ, जतिबेला इरानले कुवेतमाथि हमला गर्छ ।

तेल खानीको बिषयमा सद्दाम हुसेनको सरकार र कुवेत सरकारविच चलिरहेको लफडाको विचमा एक्कासी आक्रमण हुन्छ । सद्दामका सेनाले कुवेतलाई कब्जामा लिदै कुवेती जनतालाई मार्न थाल्छन् । सोही अवस्थामा त्यहाँ रहँदै आएका करिब १ लाख ७० हजार भारतीयको जीवन पनि अस्तव्यस्त हुन्छ । ती भारतीयलाई अक्षय कुमारले कसरी बचाउँछन् र भारत फर्काउन सफल हुन्छन्, यही कथामा आधारित छ यो चलचित्र । वास्तविक घटनामा यो चलचित्र आधारित छ ।
कस्तो छ त चलचित्र ?

धेरै देशका जनतालाई थाहा थिएन होला कि, कुवेतमाथि सद्दामको सरकारले गरेको आक्रमण र त्यसको परिणाम । यो चलचित्रले सद्दाम सरकारले कुवेतमाथि आक्रमण गरेर जसरी निर्ममता पूर्वक त्यहाँका जनतालाई इरानी सेनाले मारेको देखाएको छ, जसले सद्दाम हुसेनको निधनमा विभिन्न खालका तर्क राखिरहेका मानिसलाई पनि सोच्न वाध्य बनाउँछ । चलचित्रको मुख्य सफल पक्ष यसले उठान गरेको राष्ट्रियता हो । विश्वको जुनसुकै देशमा गएर बसेपनि आफ्नो देश भन्दा प्यारो केही हुन्न र सुरक्षित स्थान पनि आफ्नै देश हुन्छ भन्ने देखाएको छ ।

इरानी सेनाको आक्रमणपछि अक्षय कुमार आफ्नो परिवारलाई लिएर कुवेत छाड्न सक्थे, तर उनले १ लाख ७० हजार भारतीयलाई पनि सहयोग गर्ने जुन फैसला रोजे, त्यसले मानिवयता भन्दा ठूलो कुरा केही हुँदैन भन्ने देखाएको छ । साना साना कुरामा पनि निर्देशकले ध्यान दिएका छन् । सन् १९९० मा भर्खर भारतीय क्रिकेटमा उदाउँदै गरेको सचिनको जवान भिडियो देखाएको छ । सो समयमा प्रयोग गर्ने कप्युटरलाई पनि निर्देशकले ध्यान दिएका छन् । चलचित्रमा मोबाइल देखाइएको छैन, कर्लेक्स र टेलिफोन देखाइएको छ । कुवेती नागरिकलाई इरानी सेनाले मारिरहेको समयमा एक कुवेती महिला र  उनको बच्चालाई जसरी अक्षय र उनका साथीले सहयोग गर्छन्, त्यसले २१ औं शताब्दीको दुनियाँमा हराउँदै गएको मानवको व्यवहारलाई झापड हानेको छ ।
मनोरञ्जन, एक्सन, कमेडी मन पराउने दर्शकका लागि यो चलचित्र रोजाइको बिषय नहुन सक्छ । चलचित्र भित्र केही कमजोरी पक्कै छन् । तर, चलचित्रको निर्माण जसरी गरिएको छ, त्यो आफैमा मन पगाल्ने खालको छ । यो चलचित्र हेर्न जानुअघि यसको बिषयवस्तुबारे जानकारी राख्न जरुरी छ । किनकी, अक्षय कुमारको चलचित्रबाट मसला, रोमान्स, कमेडी अपेक्षा गर्ने दर्शकका लागि एयरलिफ्ट रुचिकर नहुन सक्छ । राजकृष्ण मेननको उत्कृष्ट निर्देशनका लागि पनि यो चलचित्र हेर्न जरुरी छ । अक्षय कुमार चलचित्रमा हाबी छन् र उनले जीवन्त अभिनय गरेका छन् । एयर इन्डियाले करिब डेढ लाख भन्दा बढी भारतीय नागरिकलाई भारत ल्याएर गिनिज बुकमा नाम पनि लेखाएको छ ।
भावना, राष्ट्रप्रेम, राष्ट्रियता, मानवियताका लागि यो चलचित्र एकपटक हेर्दा पैसा खेरा जाँदैन ।
साभारः अनलाइन खबर