२२ दिन लामो डा. के.सी.को अनसन तोडियो


marsang-tamang-govinda-kc१९ मंसिर, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । र, केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।

भूकम्पमा परेका अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् ।

अनसन तोडेपछि वरिष्ठ चिकित्सक केसीले नागरिक समाज र सञ्चार माध्यामको दबावमा मात्रै सरकारले आफूले उठाएका माग सम्बोधन गर्न तयार भएको बताए । यसका लागि उनले नागरिक समाज र मिडियालाई धन्यबाद दिए ।

डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयनका लागि अझै दवावको आवश्यकता रहेको बताए । उनले नेता र सरकार आफनो माग पूरा गर्न संवेदनशील नबनेकोमा दुखेसो गरेका थिए ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनसन सुरु गरेका थिए । उनका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको छ ।

govind-kc-10th-ansan

डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् ।

सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।

त्रिवि उपकुलपतिको बर्खास्तिको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।

जुस पिलाएर डा. केसीको अनसन तोडाउने बालिका को हुन् ?

१९ मंसिर, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेष प्रा.डा. गोविन्द केसीले आफ्नो दशौं अनसन २२ औं दिनमा तोडेका छन् । सरकारसँग १२ बुँदे सहमति भएपछि भूकम्प पीडित अढाई वर्षे बालिका मर्साङ तामाङको हातबाट आइतबार जुस पिएर डा. केसीले अनसन तोडे ।

को हुन् बालिका मर्साङ ?

मर्साङ तामाङ सिन्धुपाल्चोकको धुन्सा-४ का बालिका हुन् । उनकी आमाको वैशाख १२ को भूकम्पमा ज्यान गयो । भूकम्पको बेला उनी एक वर्ष पनि पुगेकी थिइनन् । भूकम्पले घर हल्लिन थालेपछि आमाले मर्साङलाई बाहिर फ्यालिदिइन् । घर भत्किएर आफू मरे पनि बच्चा बाँचोस् भन्ने ठानेर आमाले बालिकालाई घर बाहिर फ्याँकेको अड्कल स्थानीयहरु लगाउँछन् ।

सिन्धुपाल्चोकका अधिकांश घर जस्तै मर्साङको घर पनि भूकम्पले भत्कियो । गर्भवती आमा भग्नावशेषमा पुरिइन् । अन्ततः उनको मृत्यु भयो ।

आमा कहिल्यै नफर्किने गरी यस संसारबाट विदा भए पनि मर्साङ ज्युँदै थिइन् । बुवा पनि सकुशल रहे । भूकम्प पछि दूधे बालिका मर्साङ केहि समय आफन्तको शरणमा बसिन् । पछि उनलाई बौद्धस्थित ‘हाउस विथ हार्ट’ नामक संस्थाले आश्रय दियो । हाल उनी त्यहि संस्थामै बसिरहेकी ‘हाउस विथ हार्ट’की सुपरभाइजर सर्मिष्ठा थापाले जानकारी दिइन् ।

सहमति कार्यान्वयन नभए फेरि आन्दोलन‍- डा. केसी

१९ मंसिर, काठमाडौं । बाइसौं दिनमा अनसन तोडेका डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए फेरि आन्दोलन सुरु गर्ने बताएका छन् ।

‘पहिले खाएर लड्छु, भनेको । खाएर लडेको पनि हो । तर त्यसको सुनुवाई नभएपछि र बारम्बार सहमति उल्लंघन भएपछि बाध्य भएर आमरण अनसन बस्न परेको हो,’ आइतबार अनसन तोडेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै डा. केसीले भने, ‘यति हुँदा पनि सहमति कार्यान्वयनमा नआए फेरी आन्दोलनमा उत्रिन्छु ।’

भूकम्प पीडित बालिका मर्साङ तामाङको हातबाट जुस पिएर केसीले दशौं पटकको अनसन तोडेका छन् । अनसन तोडेपछि डा. केसीले सरकार र राजनीतिक दलका नेताहरुको गैरजिम्मेवारीका कारण भूकम्प पीडितले दुःख पाएको बताए ।

उनले भने, ‘गत वैशाख १२ को महाभूकम्प पश्चात अन्तर्राष्ट्रिय समुदायले नेपाललाई पुनर्निर्माण तथा पुनःस्थापनाको लागि अरबौं रुपैयाँ सहयोग स्वरुप दिएको छ । तर अहिलेसम्म केही ठोस काम भएको छैन । राजनैतिक दल, सरकार तथा संसद गैरजिम्मेवार हुँदा काममा ढिलाई भएको छ ।’

भूकम्पपीडितको सवालमा मात्र नभई हरेक क्षेत्रमा सरकार गैरजिम्मेवारीपूर्ण देखिएकाले नै सिस्टम बसाल्न आफू अनसन बस्नु परेको डा. केसीले बताए ।

वरिष्ठताको आधारमा नभई राजनैतिक भागवण्डाको आधारमा डीन नियुक्त गर्दा आइओएम जस्तो गरिमामय संस्था धरासायी बन्ने भएकाले बाध्य भएर वरिष्ठलाई नै बनाउन आफूले अडान लिएको उनले बताए ।

१२ बुँदे सम्झौता अनुसार केही माग आजैदेखि कार्यान्वयनमा आउने र केही कार्यान्वयनको प्रक्रियामा जाने उनले विश्वास व्यक्त गरे ।

साभारः अनलाइन खबर