सुर्खेत ५ माघ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकामका सरकारी कार्यालयका कर्मचारीहरुको हर्कत बाहिर आएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनको क्रममा सुर्खेतका २१ वटा कार्यालयका ४१ जना कर्मचारी अनुपस्थित भएको पाइएपछि यस्तो हर्कत बाहिर आएको हो ।
केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा अधिकाँश कार्यालयका प्रमुख नै कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । केन्द्रले मुख्यगरी समयपालना, अघिल्ला दिनहरुको अनुपस्थिती र तोकिएको पोशाक लगाएको वा नलगाएको भन्नेबारे मंगलबार छड्के जाँच गरेको थियो । सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले अधिकांश कार्यालयका प्रमुख र कर्मचारीहरुको मनोमानी देखिएको बताएका छन् ।
उनले क्षेत्रीय र जिल्लास्तर कार्यालयका प्रमुखले नै सरकारी जागिरको दुरुपयोग गरेर आफू खुसी हिड्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिए । मंगलबार मात्र ४१ कर्मचारी अनुपस्थित छन भने अघिल्लो दिन (सोमबार) २३ जना कर्मचारी कार्यालयमा नआएको रेकर्ड फेला परेको उप–सचिव ढुंगानाको भनाई छ ।
‘कुनै पनि कर्मचारीले कार्यालय छोड्नु भन्दा पहिले कार्यालयको हाजिरीमा स्पष्ट रुपमा कार्यालय छोड्नुको कारण खुलाउनु पर्ने हुन्छ ।’ उप–सचिव ढुंगानाले भने,–‘तर अधिकाँश कार्यालयका प्रमुख र अन्य कर्मचारीहरुले समेत धेरै दिनको हाजिरी खाली छोडेको पाइएको छ, जुन कार्य गलत हो ।’
सर्तकता केन्द्रको टोली आएपछि कार्यालयका कर्मचारीहरु भने डराएका थिए । छड्के अनुगमन क्रममा कतिपय कार्यालयका कर्मचारीहरुले खाली छोडेको हाजिरीमा समेत उप–सचिव ढुंगानाले रातो लगाएका छन् ।
स्वंयम अनुगमनमा हिडेका उप–सचिव ढुंगानाले दर्जनबढी कर्मचारीहरु अनुपस्थित रहेको पाइएको थियो । तर केन्द्रले मागेको विवरणमा भने तीन जना कर्मचारीले मात्र पोशाक नलाएको भन्ने उल्लेख सम्वन्धित सरकारी कार्यालयले विवरण पेश गरेको छ ।
कर्मचारीहरुले अनुगमनमा आए, केही गर्दैन भन्ने मानसिकतामा ग्रसित कर्मचारीहरुलाई कारवाही गराएरै छाड्ने चेतावनी उप–सचिव ढुंगानाले दिए ।
उनले अवको केही दिनमा कार्यालयमा अनुपस्थित हुने कार्यालय प्रमुखलाई विभागिय कारवाहीका लागि सम्वन्धित मन्त्रालयमा पत्रचार गर्ने तयारी गरेको जानकारी दिएका छन् ।
पोशाक नलाएर पनि लगाएको भन्ने विवरण दिने कार्यालयलाई पनि विशेष निगरानीमा राखेकाले अवको केही दिनमा त्यसको परिणाम सार्वजनिक गर्ने उद्घोष उप–सचिव ढुंगानाले गरे ।
साभारः अनलाइन सुर्खेत



Milan Shrestha । ५ माघ २०७२, मंगलवार १४:५७ बजे