प्रधानमन्त्री कपका लागि कर्णाली टोलीलाई भव्य विदाइ, सम्मानजनक नतिजा ल्याउने लक्ष्य


रमेश कुमार पाण्डे
५ चैत्र, सुर्खेत,देशकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने जाने खेलाडीहरुलाई आज विदाई गरिएको छ ।  यही चैत ७ गतेदेखि सुरु हुने प्रतियोगितमा सहभागी खेलाडीहरुलाई कर्णाली प्रदेश क्रिकेट संघद्वारा सफलताको शुभकामना दिँदै उच्च मनोबल, अनुशासन र समर्पणका साथ मैदानमा उत्रिन आग्रह गर्दै विदाइ गरिएको हो ।

प्रतियोगितामा सातै प्रदेशका टोलीसँगै तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरू काठमाडौं, जनकपुर र पर्सामा सञ्चालन हुने तय भएको छ । कार्यक्रममा कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले खेलाडीहरूलाई कर्णालीको नाम जितसँग जोड्ने लक्ष्यका साथ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नुभयो । उहाँले अनुशासन, आत्मविश्वास र सुदृढ टिमवर्क नै सफलताको मुख्य आधार भएको उल्लेख गर्नुभयो ।

त्यस्तै, टोलीका खेलाडीहरूले पनि कर्णालीको पहिचानलाई राष्ट्रिय स्तरमा अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । टोलीका कप्तान दिवान पुनले यसपटक कर्णालीले सम्मानजनक नतिजा हासिल गर्नेमा आफूहरू पूर्ण रूपमा विश्वस्त रहेको बताउनुभयो ।

प्रतियोगिता नजिकिँदै गर्दा कर्णाली टोली उत्साह, ऊर्जा र आत्मविश्वासका साथ तयारीमा जुटेको छ । अब मैदानमा देखिने प्रदर्शनले उनीहरूको लक्ष्य कत्तिको सफल हुन्छ भन्ने स्पष्ट पार्नेछ ।