पुस २८, २०७२- भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक पनि हो । गत शुक्रबार सिन्धुपाल्चोकको बराम्ची गाविस जाने मौका मिल्यो । संयोगले त्यहाँ भूकम्पपीडितलाई कम्बल बाँड्ने कार्यक्रम रहेछ । कार्यक्रमका मुख्य संयोजक मोहनप्रसाद ज्ञवालीका अनुसार बराम्ची गाविसको चनौते गाउँका दलित बस्तीलाई लक्षित गरेर कम्बल वितरण गरिने बताए । सोही अनुसार कार्यक्रम अघि बढ्यो । वितरण कार्यक्रममा जम्मा ६० घरधूरीमध्ये ४८ घरधूरी दलित र अन्य समुदायका पीडित संलग्न थिए । कम्बल वितरण गर्नुअघि म बराम्चीका विशेषगरी वडा नं. ५, २ र ९ घुम्न भ्याएको थिएँ ।
गाउँलेहरुमा प्राय: कसैको मुख ताकेको भान गर्न त सकिनँ । तर, मलाई कताकता अप्ठेरो भने महसुस भएको थियो । अपरिचित व्यक्ति भएकाले जो कसैले कुन संस्थाबाट के कति कामले पाल्नु भएको भनी सोध्नु कुनै अनौठो रहेन । मेरो आफ्नो वास्तविक परिचय दिलाउनु बाहेक अरु दुखम्सुखम्का कुरा गर्नु सायद अपच नै हुन सक्थ्यो ।
सरकारले घर पुनर्निर्माणको लागि १५ हजार रुपैयाँ राहत दिने भन्ने खबर गाउँलेले जेठ असारमै थाहा पाएका थिए । बर्खाभरि उनीहरुले जोखिम मोलेरै सिर्फ बाँच्नकै लागि संघर्षका दिनहरु गुजारे । अब त हिउँद याम सुरु भएर पनि निख्रिनै आँटेको बेला राजधानी लगायतका सहरहरुमा भूकम्पपीडितका सवालमा ठूलठूला कार्यक्रम ल्याउँदा पनि तिनलाई कुनै प्रवाह थिएन । किनभने, सरकारले केवल आशा मात्र देखाउँछ, दिने केही हैन । बरु देशविदेशमा रहेका केही कल्याणकारी संघसंस्था उनीहरुको घरआँगन पुगेर केही राहतका पोका बाँडेको कत्ति पनि बिर्सेका छैनन् । उनीहरुका निम्ति ती राहत सहयोग कार्यक्रमहरु ठूलै उपकारी गुण थिए । यस्तो बेला गाउँका सबै आपसमा मिलेर बाँडचुँड गरेको सुन्दा/देख्दा जो कोही कल्याणकारी व्यक्ति वा संस्था उत्साहित हुनु स्वाभाविक हो । ‘खास काम हाम्रो अध्ययन अनुसन्धानको हो । तर यस्तो बेला पीडितलाई कनीकुथी सोधपुछ गर्नु, जिज्ञासा तेस्र्याउनु ज्यादा अशोभनीय हुन्छ । यसैलाई मनन गरी यता आउँदाखेरी साथमा यस्तो जाडोको बेला एकदुई कम्बल बाँड्नु हाम्रो लागि सानो होला । तर, भत्किएका गोठहरुमा कठ्यांग्रिएर रात कटाइरहेका भूकम्पपीडितलाई त्यो निकै ठूलो हो,’ ज्ञवालीले छोटकरीमै कुरा टुंग्याए– ‘कमसेकम हाम्रो सानो राहतले उनीहरुको जीवनमा कुनै सानै भए पनि बदलाव ल्याएमा त्यो हाम्रो लागि निकै ठूलो धर्म पनि हो ।’
साभारः कान्तिपूर अनलाइन
साभारः कान्तिपूर अनलाइन




Milan Shrestha । २८ पुष २०७२, मंगलवार १२:४२ बजे