राजा र राजतन्त्र लाई समाप्त पार्नकालागि पहिला सामन्तवादलाई समाप्त पार्नु पर्ने- सुवाल


प्रवाशकुमार शाक्य
१८ माघ, सोमबार, सुर्खेत
नेपाल मजदुर किसान पार्टी सुर्खेतले आज पार्टीको ४२औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा भारतीय नाकाबन्दी र पारवहन अधिकार विषयक अन्तरक्रिया सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख वक्ता नेमकिपाका केन्द्रिय सदस्य एवं विदेश विभाग प्रमुख साँसद प्रेम सुवालले राजा र राजतन्त्र लाई समाप्त पार्नकालागि पहिला सामन्तवादलाई समाप्त पार्नु पर्ने बताउनुभयो । राजतन्त्र समाप्त भए पनी सामन्त र पुँजीवाद सरकारमा गएकोले गरिव जनताले केही नपाएको उहाँले जिकिर गर्नुभयो । त्यसैले नेमकिपाले उठाएको सामन्त र पुँजीवादलाई नै समाप्त पार्नुपर्ने कुरा उठाएको अहिले त्यो सत्य सावित भएको समेत बताउनुभयो ।
भारतले नेपाललाई पहिले देखि नै विषेश गरेर १९५०को सुगौली सन्धीमा हातहतियार ल्याउनु परे भारतको बाटो हुँदै ल्याउनु पर्ने नेपालको जलश्रोतको विकास लगाएका विकास गर्न भारत संग सोध्नुपर्ने जस्ता कुराहरु सन्धी राखिएको कारण हाम्रो देश नेपाललाई भारतले थिचोमिचो गर्दै आएको साथै १०बर्ष माओवादी सशस्त्र आन्दोलनलाई प्रत्यक्ष सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा नेमकिपा भातृ सगठन नेक्रामस कि केन्दिय अध्यक्ष एवम् साँसद अनुराधा थापामगरले भूकम्पले थिलथिलिएको समयमा छिमेकी मूलुक भारतले नाकाबन्दी लगाएर आफुलाई खराब छिमेकी सावित गरेको बताउनुभयो । नाकाबन्दी भनेको युद्ध समान भएको र नाकाबन्दी लगाएर युद्धको घोषणा गरेर भारत हाम्रो शत्रु सावित भएको समेत उहाँले बताउनुभयो । खराब छिमेकीको अमानवीय व्यवहार र नाकाबन्दी विरुद्धमा देशको सार्वभौमिक जोगाउन र देशलाई बचाउनकालागि नेपालको राजनितिक परिदृश्यमा नेपाल मजदुर किसान पार्टी एक्लो उभिएको र यस्मा विस्तारै जनताहरुको साथ बढी रहेको र भारतले गरेको युद्धको घोषणाको विरुद्धमा अब नेपाल सरकार र जनताहरु कानुनी हतियार बोकी अगाडी बढ्नु पर्छ भनी संसदमा आवाज उठाएको उहाँले बताउनु भयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेज भक्तपूरका प्राचार्य सुनिल माकले भुकम्प सम्बन्धी आफ्नो धारणा राख्नुभएको थियो । भने सहप्राचार्य सुनिल सुवाल  र क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय सचिव नरेश खत्रीले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेमकिपा सुर्खेतका कार्यवाहक अध्यक्ष बमबहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।