फागुन १ बाट सबै जिल्ला अस्पतालमा शल्यक्रिया र आकस्मिक उपचार हुने


काठमाडौ, २६ माघ । स्वास्थ्य मन्त्रालयले देशभरका सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । अहिलेसम्म पनि विषेशज्ञ चिकित्सक नभएका र आकस्मीक शल्यक्रिया सेवा नभएका ३० ओटा जिल्ला अस्पतालहरुमा यी सेवा सुरु गर्ने निर्णय मन्त्रालयले बुधबार गरेको हो । शल्यक्रिया र आकस्मिक सेवा फागुन एक देखि १३ ओटा जिल्ला अस्पतालहरुमा सुरु हुने र बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरुवात गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१ गते देखि सेवा सुरु हुने जिल्ला अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपूर, धनकुटा, बाग्लुङको बुर्तिवाङ रहेका छन् । स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मन्त्रालयको निर्णय अनुसार, अवदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए  । अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने उनले बताए ।

साभारः हाम्रोडक्टरअनलाइन