मधेसी मोर्चाको विरोधका बीच बाबुराम जनकपुर जाने


१२ असोज, काठमाडौं ।
मधेसी मोर्चाको विरोधका बीच पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनकपुर जाने भएका छन् । हालै मात्र एमाओवादी र संसद सदस्य परित्यागको घोषणा गरेका भट्टराईको स्वागतमा एमाओवादीका असन्तुष्ट मधेसी नेताहरुले स्वागत कार्यक्रम राखेका छन् ।
तर, मधेसी मोर्चाले भट्टराईको विरोधमा विमानस्थलमा धर्ना दिने बताएको छ । त्यसअघि तय भएको भट्टराईको जनकपुर भ्रमण मोर्चाको विरोध पछि रोकिएको थियो । लगतै भट्टराईले मधेसी मोर्चाले अघि सारेको मागमा समर्थन जनाउँदै विज्ञप्ति निकाले । शनिबार उनले एमाओवादी र संसद सदस्य परित्यागको घोषणा गरे ।
भट्टराईले काठमाडौं र तराई मधेसको बढ्दो दुरी कम गर्ने र राष्ट्रिय एकताको वातावरण बनाउने आफ्नो एजेण्डा भएको बताएका छन् । भट्टराईले जनकपुरमा गोपाल धर्मशालाको प्रांगणमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।