नेपाली नागरिक अपहरण गर्न खोज्ने भारतीय प्रहरी टोलीलाई विना कारबाही छाडियो


DOTI१९ जेठ, डोटी । डोटीका एक नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ ।

बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजाने प्रयास गरेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि भारतीय टोली पक्राउ पर्‍यो । खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराजसहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको थियो ।

सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले दिएको जानकारी अनुसार महाकाली अञ्चल प्रहरी कार्यालयमार्फत भारतीय सीमा प्रहरीको जिम्मा लगाइएको हो । ‘दुई देशको सम्वन्धको पनि कुरा आउँछ,’ अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै देउजाले भने, ‘भारतीय प्रहरी भएको पुष्टि भइसकेपछि हामीले जताबाट आएका हुन्, उतै पठाइदियौं ।’

कुनै घटनाको अनुसन्धानका लागि भारतीय प्रहरी नेपाल आउन सक्ने भएपनि उनीहरु सूचना नदिएर आएको पाइएको उनले बताए ।

प्रहरी नायव महानिरीक्षक देउजा भन्छन्, ‘उनीहरुले सूचना नगरेर आएकोमा माफी मागिसकेका छन्, त्यसैले हामीले भारतीय प्रहरीलाई जिम्मा लगाएका छौं ।’ त्योभन्दा अरु कुनै कारवाही गर्ने कानुनी प्रानधान नरहेको देउजा बताउँछन् ।

भारतीय प्रहरीसँगै नियन्त्रणमा लिइएको गाडी र चालक राजेश बागचन्दलाई पनि भारतीय प्रहरी टोलीसँगै कञ्चनपुर पुर्‍याइएको थियो । उनीहरुलाई पनि सम्वन्धित व्यक्तिको जिम्मा लगाइने प्रहरी नायव महानिरीक्षक देउजा बताउँछन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पनि भारतीय प्रहरीलाई कारबाही नगरिएको पुष्टि गरे । ‘भारतीय प्रहरी हुन भन्ने पुष्टि भयो’ शर्माले भने ‘दुई देशको कुरा भएका कारण हामीले कारवाही गर्न नमिल्ने, माथिको आदेश जस्तो आयो त्यहीअनुसार गरियो ।’

मानवअधिकारकर्मी तथा अधिवक्ता डण्डीराज ओझाले भने नेपाल सरहदभित्र आएर नेपालीलाई मध्यरातमा अपहरण गर्नु अन्तर्राष्ट्रिय सन्धी महासन्धी र नेपालको कानुन बिपरित भएको बताउँछन् । उनले भने, ‘अपराधीलाई स-सम्मान बुझाउनु मिल्दैन ।’

‘भारतीय भू-भागमा अपराध गर्ने नेपालीहरुलाई भारतले नेपाललाई बुझाएको छ र ?’ ओझा प्रश्न गर्छन्, ‘भारतीय प्रहरी हो भन्दैमा हाम्रो देशमा आएर जे पनि गर्न पाइन्छ र ? उनीहरु अपहरणकारी हुन्, अपहरणकारीलाई जे सजायँ हुन्छ त्यही सजायँ उनीहरुलाई पनि हुन्छ ।’

भारतीय प्रहरीले सुराकीको रुपमा प्रयोग गरेका डोटी दिपायल सिलगढी नगरपालिका-८ का प्रसाद पार्की भने यतै छन् । पार्की र अपहरित आउजीलाई परिवार वा आफन्तको जिम्मा लगाइने प्रजिअ शर्माले बताए ।

साभारः अनलाइनखबर