नेपाल टेलिकमले ल्यायो एनटी प्रोसेवा


२१ चैत, काठमाडौं । नेपाल टेलिकमले नयाँ सेवाको रुपमा उपभोक्ताहरुलाई ‘एनटिप्रो’ सेवा उपलब्ध गराउने भएको छ । एनटिप्रो प्रयोग गरी स्वदेश तथा विदेशबाट जीएसएम नेटवर्क बाहिर भएका, तर इन्टरनेट जोनभित्र रहेको अवस्थामा आफ्नै पोष्टपेड मोबाइलबाट विश्वभर कल गर्न सकिन्छ ।
यो सुविधा उपभोग गर्नका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत एनटिप्रो एकाउन्ट खोल्नुपर्छ । यसका लागि एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट एनटिप्रो एप डाउनलोड गर्न सकिन्छ । एसयुवी एनटिप्रो टाइप गरी १४२८ मा एसएमएस गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । एनटिप्रोबाट एनटिप्रोमा निःशुल्क कल गर्न सकिन्छ । एनटिप्रोबाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहनेछ । यसबाट कम्पनीको नेटवर्कमा कल गर्दा र कम्पनीको नेटवर्कबाट एनटिप्रोमा क रिसिभ गर्दा प्रतिमिनेट ६ रुपैयाँ शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय  कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा ६ रुपैयाँ बढी शुल्क लाग्छ । यो सुविधा लिएवापत मासिक रुपमा सय रपैयाँ शुल्क बुझाउनुपर्छ । माथिका शुल्कहरु कर समावेश गरिएको छैन ।
साभार अनलाइनखबर