बन्दका कारण कालीकोटको जनजीवन प्रभावित


बिस्नप्रसाद न्यौपाने
फागुन ८, कालीकोट ।

बिप्लव नेतृत्वको नेकपाको नेपाल बन्दका कारण कालीकोट प्रभावित बनेको छ । बन्दका कारण मंगलबार कर्णाली राजमार्गमा चल्ने यातायातका साधनहरु ठप्प भएका छन् ।

सुरक्षा सम्वेदनशीलताका कारण जुम्ला, मुगु, कालीकोट देखी सुर्खेत, नेपालगञ्ज, काठ्माण्डौ सम्म जाने गाडीहरु बीचबाटोमै रोकीदा यात्रुहरु अलपत्र परेका छन् ।

नेकपाले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, बिद्यालय, बजार, यातायात सेवा सबै बन्द गर्न आह्वान गरेपनि जिल्लाका सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था, बजार सबै खुला रहे भने यातायात सेवा भने ठप्प भएको हो ।

बन्दका कारण जिल्ला प्रहरी कार्यालयले सदरमुकाम तथा आसपासका क्षेत्रहरुमा सुरक्षाका लागि प्रहरी टोली खटाएको डिएसपी सुभासचन्द्र बोहोराले जानकारी दिए । उनले धेरै गाडी जम्मा भएपछि जिल्ला प्रहरी कार्यालयको सुरक्षा क्षेत्रसम्म प्रहरी टोलीले स्कटिङ गरेर पठाउने व्यवस्था गरिएको भएपनि एक दुई वटा गाडी भए सुरक्षाका कारण सडकमै प्रहरीको सुरक्षामा राखिएको बताए । उनले जिल्लामा दिनभर कुनै अप्रिय घटना नभएको जानकारी दिदै बन्दको प्रभाव भने रहेको बताए ।

नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु सडक बजार क्षेत्रमा नदेखिएपनि नागरिकहरु आफै तर्सित भएको र गाडीहरु चलाउदा जलाउने डरले जहाँको तही रोकिएको बुलबुलले यातायात प्रालिका जिल्ला ईन्चार्ज अंकबहादुर गुरुङले बताए ।

यसैवीच सुर्खेतमा पनि बन्दको प्रभावका कारण वीरेन्द्रनगर बजार पूर्णरुपमा भएको र जिल्लाबाट बाहिरिने छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएता पनि वीरेन्द्रनगर बजारमा यातायातका साधन सहजरुपमा चलेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।