सेनानीको नाममा अक्षय कोष स्थापना


१८ जेठ दैलेख–विनासकारी भूकम्पमा परेकाको उद्दारमा अमेरिक सेनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका सेनानी तपेन्द्र रावलको सम्झनामा अक्षकोष स्थापना गरिएको छ। सेनानी रावल पढेको बसन्त उमावि विद्यालय किमुगाँउमा बुवा बलबहादुर रावलले ४ लाखको तपेन्द्र स्मृति अक्षकोष स्थापना गरेका हुन्।

वार्षिक पुण्यतिथि पारेर परिवारले अक्षकोषको स्थापना गरेको हो। अक्षकोषको ब्याजबाट रकमबाट विद्यालयमा अध्ययनरत गरीब तथा जेहेनदार छात्र १५ जना र छात्रा १३ जना गरी २८ जनालाई १५ हजार छात्रवृद्धि उपलब्ध गराइने विद्यालयमै एक कार्यक्रम गरी सेनानीको बुवाले बताए। कार्यक्रममा विद्यालयबाट प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई १५ हजार उपलब्ध गराइने कोषका कोषाध्यक्ष तथा शिक्षक कमल देउजाले बताए । कार्यक्रममा स्वर्गीय सेनानी रावलको बुवा र दिदीलाई विद्यालयले शिक्षा क्षेत्रमा योगदान दिएकोमा दोसल्ला ओढाएर सम्मान गरेको थियो।

कार्यक्रममा स्वर्गीय रावलका परिवारजन, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, श्री समरसुर गुल्मका गुल्मपति सेनानी सुर्यकान्त घिमिरे, प्रहरी नायव उपरिक्षक वीरबहादुर ओली, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी, नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्त बहादुर मल्ल, लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

साभारः नागरिक अनलाइन