लगानी भित्र्याउन ‘भिडियो कन्फरेन्स’


लगानी भित्र्याउन 'भिडियो कन्फरेन्स'

सुर्खेत–’कृषि, पर्यटन, जलविद्युत र प्राकृतिक सम्पदाको खानी मध्यपश्चिमबाट यहा”हरुलाई हार्दिक स्वागत गर्दै लगानी वर्ष–२०७३ मा अमेरिकी र अफगानी लगानीकर्ता र त्यहाँका जनतालाई सुर्खेतमा हार्दिक आमन्त्रण गर्दछौं ।’
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले यसो भन्दा अफगास्तिानको बामियान सहरस्थित लिंकन लर्निङ सेन्टरमा रहेका करिब दुई दर्जन अफगान र नेपालस्थित अमेरिकी कर्नर काठमाडौंका कर्मचारीले ताली बजाएर समर्थन जनाए । सुर्खेत उद्योग वाणिज्य संघले २०७३ लाई सुर्खेत लगानी वर्षको रुपमा मनाउँदैछ । यसका लागि संघले आउने मंसिरमा अन्तर्राष्ट्रिय लगानी सेमिनार आयोजना गर्दैछ । यसैका लागि बुधबार अफगानिस्तानका लगानीकर्ता र अमेरिकी दूतावासमार्फत त्यहाँका लगानीकर्तालाई मध्यपश्चिममा लगानीका सम्भावनाबारे जानकारी दिने उद्देश्यले भिडियो कन्फरेन्स आयोजना गरिएको थियो ।

‘अफगान उद्योग वाणिज्य संघ र अमेरिकी दूतावासमार्फत सम्बन्धित देशका लगानीकर्तालाई मध्यपश्चिममा लगानीका सम्भावनाबारे जानकारी दिन र लगानी वर्षका लागि निमन्त्रणा गर्न हामीले प्रविधिमार्फत जानकारी आदान–प्रदान गरेका हौं,’ अध्यक्ष अधिकारीले भने, ‘कृषि, पर्यटन, जडीबुटी र जलविद्युतमा लगानी गर्न अमेरिकी र अफगानी लगानीकर्ताहरु सकारात्मक देखिएका छन् ।’

अफगानिस्तानसँग सुर्खेत उद्योग वाणिज्य संघले यसअघि पर्यटन र हस्तकलाका सामग्री आदान–प्रदान गर्ने विषयमा पनि भिडियो कन्फरेन्स सम्पन्न गरिसकेको छ । नेपालभन्दा निकै परका विदेशी लगानीकर्तालाई प्रविधिको प्रयोगमार्फत यो क्षेत्रमा लगानी गर्न आग्रह गर्दै संघले भिडियो कन्फरेन्स गर्दै आएको छ ।

मध्यपश्चिम क्षेत्रमा लगानीका अवसर, व्यापार सम्बन्ध र कृषि वस्तुमा गरिएका अभ्यासबारे जानकारी गराइएको बताए । ‘लगानी वर्ष २०७३ को लागि निम्तो दिनुका साथै मध्यपश्चिम क्षेत्रमा लगानीका अवसरहरु, एकआपसमा अनुभव आदान–प्रदान र कृषि वस्तुबारे हामीले जानकारी गरायौं,’ उनले भने, ‘यो क्षेत्रमा लगानी गर्न र एकले अर्का देशका सामान आपूर्ति गर्न उहाँहरु सहमत हुनुभयो ।’ उनले मध्यपश्चिम क्षेत्रमा बाह्य लगानीको सुरक्षाका लागि सरकारी निकायका साथै राजनीतिक दलहरुले पनि प्रतिबद्धता जनाएको बताएका थिए ।

आफगान उद्योग वाणिज्य संघका निर्देशक अली हसनजादाले पर्यटन, कृषि, जलविद्युतमा लगानी र हस्तकलाका सामग्री आदान–प्रदान गर्न आफूहरु तयार रहेको बताएका थिए । ‘यी सम्भावनाहरु हाम्रा देशमा पनि छन्,’ उनले भने, ‘पर्यटन, कृषि, जलविद्युतमा लगानीका साथै हस्तकलाका सामग्री आदान–प्रदान गर्न हामी सकारात्मक छौं ।’

भिडियो कन्फरेन्समा आफगान उद्योग वाणिज्य संघका आर्थिक निर्देशक अब्दुल नाविदले सुर्खेत उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै नेपालको मध्यपश्चिम क्षेत्रमा लगानी गर्न अफगानी उद्योगीलाई आग्रह गरिने बताए । ‘तपाईंहरुले मध्यपश्चिम क्षेत्रलाई लगानीका लागि ‘भर्जिन’ ठाउँ भन्नुभएको छ’ उनले भने, ‘तपाईंहरुको सन्देश हामी यहाँका उद्योगी व्यवसायीसम्म पुर्याउँछौं ।’ उनीहरुले सुर्खेत लगानी वर्षलाई सफल पार्ने अभियानमा आफूहरु पनि सहयोगी बन्ने बचन दिए ।

भिडियो कन्सफरेन्समा काठमाडौंस्थित अमेरिकी राजदूतावासबाट सहभागी अमेरिकन स्पेस कोअर्डिनेटर डारिया रोचले दुवै देशका व्यवसायीलाई एक अर्काको देशमा लगानीका सम्भावना, लगानीका क्षेत्र र पर्यटन प्रवद्र्धनमा आफूहरुले सहयोग गर्ने बताइन् । ‘दुबै देशबीच भएको भिडियो कन्फरेन्स एकदमै उत्कृष्ट लाग्यो,’ उनले भनिन्, ‘अमेरिकी कर्नरका माध्यमबाट दुवै देशका व्यवसायी र उद्योगीलाई एक अर्काको देशमा लगेर अनुभव आदान–प्रदान र लगानी गर्ने अवसर सिर्जना गर्न हामी सहयोगी बन्ने छौं ।’

कार्यक्रममा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका वरिष्ठ कृषि अधिकृत हरिप्रसाद गुरुङले सुर्खेतलगायत मध्यपश्चिममा कृषि गतिविधि, कृषिमा लगानीका अवसर र नेपालमा कृषि व्यवसायबारे प्रस्तुति दिएको अमेरिकन कर्नर सुर्खेतका सूचना अधिकृत हृदेशकुमार केसीले जानकारी दिए । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष बासुदेश शर्मा, महासचिव गोपालकृष्ण गिरी, सदस्य भद्र भण्डारी, मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक ऋषिकेशर खनाल, सुरज बयलकोटी, एसएनभी नेपालका मूल्य शृंखला विकास सल्लाहकार सन्जीवकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

साभारः नागरिक अनलाइन