
सुर्खेत । सुर्खेत विमानस्थल परिसर भित्र मानवीय सहायता तथा विपद उद्वार पोखरी निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो ।
सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रविधिलाई “बम्बी बकेट” भनिन्छ यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जंगल डढेलो वा अन्य आगलागीमा खसालिन्छ ।
उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने बताउनुभयो । नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत रू ९९ लाख ९६ हजार २ सय रहने उपसचिव गौतमले जानकारी दिनुभयो । उपसचिव गौतमले विमानस्थल भित्र मानवीय सहायताका हिसावले उक्त पोखरी नेपालकै पहिलो हुने बताँउदै पोखरी निर्माण पश्चात प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्त्रण गर्ने जानकारी दिनुभयो ।
यसैबिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणको आज शुभारम्भ गर्नुभएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विपदका घटना अकस्मात हुने हुँदा पूर्व तयारीका लागि पोखरी उपयोगी हुने बताउनुभयो । उहाँले बढदो शहरिकरणका कारण आगजनीका घटना दिनप्रतिदिन बढी रहेकोले हेलिकप्टर सहित दमकलबाट समेत अग्नी नियन्त्रणमा उक्त पोखरी निर्माणले सहज हुने बताउनुभयो ।
मुख्यमन्ती कँडेलले प्रदेश सरकारले विपद न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षानिकायहरू संग सहकार्य गरिरहेको बताउदै विपद न्यूनिकरणमा सबैको सामुहिक प्रयासको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख सचिव वीरेन्द्र कुमार यादव, पश्चिम पृतनाका सहायक रथी, संजयकुमार रंजित, नं ४ बाहिनि नेपालगंजका बाहिनीपति दिनेशजंग शाह ,कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।



Prawash Kumar Shakya । ११ पुष २०८२, शुक्रबार १४:१९ बजे