एनजिओका सञ्चालकहरुको सम्पति बिबरण मागीने



असार ३, कालीकोट ।

गैरसरकारी संस्थाहरूले नवीकरण गर्दा सञ्चालकहरूको सम्पत्ति विवरण अनिवार्य पेस गर्नु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लामा काम गरीरहेका संस्थाहरुले नवीकरण गर्दा सञ्चालकको सम्पति बिबरण अनिबार्य पेश गर्न निर्देशन दिएपछि अनिबार्य पेश गर्नु पर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले सूचना जारी गरी कालीकोटमा कार्यक्षेत्र बनाई काम गरीरहेका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरका गैैरसरकारी संस्थाहरूले नवीकरण गर्दा अनिवार्य रूपमा सञ्चालकहरूको सम्पत्ति विवरण पेस गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा दर्ता भएका सबै गैरसरकारी संस्थाहरूको कार्यसमितिका पदाधिकारीहरू समेतको नाम, ठेगाना, सम्पर्क नम्बरसहित सूचना जारी भएको मितिदेखि एक महिना भित्र विवरण कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

कालीकोट जिल्लामा ५ सय, २७ वटा गैरसरकारी संस्थाहरू दर्ता भएकाछन् । भने दर्ता भएका मध्ये केही मात्रै क्रियाशिल देखिएका छन् ।

सरकारले चालेको यो कदमले कत्तिको सार्थकता पाउँछ त्यो हेर्न भने केही समय कुर्नै पर्ने देखिन्छ ।