पहिरामा पुरिएका तीनको सकुशल उद्धार


मुगु, जेठ २४

घर बनाउने क्रममा माथिबाट आएको पहिरामा पुरिएका तीन जना कामदारको आज सकुशल उद्घार गरिएको छ।

सदरमुकाम गमगढीस्थित नयाँ रोडमा रोवा–६ र्याङ्चेकाटी गाउँका वसन्त कुमाईंको आज मध्याह्न १२ बजे नयाँ घरको जग काट्दै गर्दा घर माथिबाट पहिरो आउँदा जग काटिरहेका तीन जना पुरिएका थिए। तत्कालै घटनास्थलमा पुगेका स्थानीयवासी तथा नेपाल प्रहरीले माटो हटाएपछि उनीहरुको सकुशल उद्घार भएको हो। पुरिएका कार्कीवाडा–४ का २७ वर्षीय ललितजङ्ग रोकाया र सोही ठाउँका ३० वर्षीय मीमबहादुर सेजुवालको २० मिनेटमै उद्घार भए पनि १८ वर्षीय कालीबहादुर विकको खुट्टामा ढुङ्गाले च्याप्दा उनलाई उद्घार गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

एक घन्टा लगाएर विकको उद्घार गरिएको थियो। उनको खुट्टामा सामान्य चोट लागेको छ। तीनै जनालाई जिल्ला अस्पतालमा उपचार गरिएको छ। तीनै जनाको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ। रासस