नरहरिनाथ गाउँपालिका केन्द्रमा सडक पुग्दै


असोज १२, कालीकोट ।

भौगोलिक रुपमा अत्यन्तै बिकट कालीकोटको नरहरिनाथ गाउँपालिका छिट्टै सडक सञ्जाल सँग जोडिने भएको छ । लालिघाट हुँदै निर्माण भैरहेको सडक पालिका केन्द्र कुमालगाँउ पुगेमा साविकका ५ वटा गाविसहरु मिलेर बनेको नरहरिनाथ सडक सञ्जालमा जोडिने भएको हो ।

सडक निर्माणको जिम्मेवारी लिएका उपभोक्ता समितिलाई तिब्र गतिमा काम गर्न लगाएर मंसिर सम्म गाउँपालिका केन्द्र सम्म सडक सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले बताउनु भयो । लालिघाटदेखि कुमालगाँउ खण्ड सडकको १५ किलोमिटर दुरी मध्य कर्णाली रोजगार कार्यक्रम मार्फत कुमालगाँउदेखि कोटवाडा खण्डको धेरै भाग निर्माण भैसकेको र अब कोटवाडाको धारी खण्डको करिब ३ किलोमिटर सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने अध्यक्ष विष्टको दाबी छ ।

नरहरिनाथ गाउँपालिकाकै खुलालु भएर लालु माल्कोट भएर निर्माण भैरहेको सडक तल्कोट नजिक पुग्नै थालेकाले सो सडक निर्माणमा पनि तिब्रता दिने गाउँपालिकाले जनाएको छ । साविकका लालु, माल्कोट, रुप्सा, कुमालगाँउ र कोटवाडा गरि ५ गाविसका हजारौं बासिन्दा हाल सडक यातायात बाट बञ्चित रहेका छन् । यातायात अभावका कारण दैनिक उपभोग्य सामान अत्यन्तै महंगो मूल्यमा किन्नुपर्ने तथा आकस्मिक विरामीहरु उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता रहेको स्थानीयवासीहरु दुखेसो पोख्छन् ।

प्रदेश, केन्द्र तथा स्थानीय तहको व्यवास्ताको कारण हवाई यातायातको एकमात्र कोटवाडा विमानस्थल पनि परीक्षण उडानमै सिमित रहेको पूर्व कोटवाडा गाविस अध्यक्ष एवं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नरहरिनाथका अध्यक्ष धनवहादुर विष्टले वताउनुभयो । नरहरिनाथमा यातायात पहुँच पुगेमा रामारोषन तथा वडिमालिका लगाएतका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पर्यटक आगमनसँगै गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने विश्वास गाउँपालिकावासीले लिएका छन् ।